site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० किलो सुन तस्करीका मुख्य नाइके पक्राउ परिसके ! खोजिँदै नेपाली ‘कनेक्सन’

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २३ आरोपित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् । तीमध्ये १७ जनालाई राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । ६ आरोपितलाई सीआईबी आफैँले नियन्त्रणमा लिएको हो ।

सीआईबीले पक्राउ गरेका सबै आरोपित चिनियाँ नागरिक हुन् । तीमध्ये एक महिला समेत छिन् ।

गएको साउन ३२ गते दुई चिनियाँ पक्राउ परेका थिए । तीमध्ये एक ६० किलो सुन तस्करीका मुख्य योजनाकार यहो पेचिङ रहेको सीआईबी स्रोतले बतायो ।

उनीसँगै ली विन तेसुङ पनि पक्राउ परेका थिए । तर, यहो पेचिङ नै हङकङ हुँदै नेपालमा सुन तस्करी गर्ने मुख्य योजनाकार रहेको सीआईबी स्रोतको जिकिर छ ।

“६० किलो सुन तस्करीका मुख्य योजनाकार यहो पेचिङ देखिएको छ,” सीआईबी स्रोतले बाह्रखरीसित भन्यो, “उनी नेपाल मात्रै होइन, हङकङ हुँदै भारतको दिल्ली विमानस्थल प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहका नाइके हुन् ।”

सन् २०१९ मा उनी ६ किलो सुनसहित दिल्लीको इन्दिरा गान्धी विमानस्थलको गेट नम्बर–३ बाट पक्राउ परेको पनि खुलेको छ । यो कुरा उनले स्वीकार समेत गरेको सीआईबी स्रोतको भनाइ छ ।

प्रहरीले उनको साथबाट भारतीय आधार कार्ड समेत बरामद गरेको छ । उनीमार्फत नै अरू चिनियाँ सुन तस्करीमा लागेको सीआईबीको आशंका छ । सीआईबीले अरू शंकास्पद चिनियाँ नागरिकमाथि समेत निगरानी बढाएको छ ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको ब्रेक सुभित्र लुकाइएको सुन राजस्वको टोलीले बरामद गरेको थियो । रेडी ट्रेड कम्पनीमार्फत आयात गरिएको पाटर््समार्फत सुन तस्करी गरिएको खुलेको थियो ।

तीन महिनाको अवधिमा हङकङबाट मात्र ३३ र दुबईबाट समेत गरेर ३४ पटक कार्गोमार्फत मोटरपाटर््सका नाममा सुन भित्र्याएको खुलेको छ ।

नेपालमा ‘सेटिङ’को जिम्मा दावालाई
पक्राउ परेका तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङमार्फत पेचिङले नेपालमा सुन तस्करीको सञ्जाल फैलाएको सीआईबीको अनुसन्धानका क्रममा खुलेको छ ।

पेचिङले महाराजगन्ज, चप्पल कारखानास्थित एउटा घर नै माहिनाको एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको खुलेको छ ।

दावामार्फत उनले नेपालका विभिन्न व्यवसायीदेखि उच्च तहका नेतासम्म सम्बन्ध विस्तार गरेको देखिएको छ । नेपालीसँग उनको सम्बन्ध कस्तो हो भन्ने बारेमा पनि सीआईबीले अनुसन्धान थालेको छ ।

साउन १० गते दावालाई ठमेलको भियना होटेलबाट राजस्वको टोलीले पक्राउ गरेको थियो । दावासँग नेपाली नागरिकता समेत भेटिएको छ । रोल्पाकी माओवादी कार्यकर्तासँग बिहे गरेका दावाको सो पार्टीका शीर्ष नेताहरूसँग बाक्लो उठबस रहेको खुलेको छ ।

काभ्रेपलाञ्चोक प्रशासनबाट जारी गरिएको उनको नागरिकताको अभिलेख भने भेटिएको छैन ।

साउन २१ देखि सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न थालेको हो । सीआईबीले संगठित तस्करीबारे अनुसन्धान गरिरहेको छ । तस्करीको जालो अझै बढ्न सक्ने सीआईबीले जनाएको छ ।

दावा र पेचिङमार्फत तस्करीमा केही नेपालीको संलग्नताबारे समेत सीआईबीले अनुसन्धान थालेको छ ।

प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने अनुसन्धान अझै जारी रहेकाले अहिले नै नेपालीको भूमिकाबारे केही खुल्न नसकेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro