
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० मा देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशमा आर्थिक वृद्धि उत्पादनको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत, उद्योग क्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४.१२ प्रतिशत, १३.४५ प्रतिशत र ६२.४३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६.४१ प्रतिशत रहेको छ ।
कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २५.२१ प्रतिशत र ३१.६६ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष कुल विद्युत्को जडित क्षमता वृद्घि भई २६८४.४ मेगावाट पुगेको छ । जसमध्ये जलविद्युत्को २५३७.९ मेगावाट, सोलारको ८७ मेगावाट, कोजेनेरेसनको ६.० मेगावाट र थर्मलको ५३.४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको छ । समीक्षा वर्षमा पर्यटक आगमन संख्या आठ लाख ६२ हजार ९९२ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा उक्त संख्या तीन लाख ७४ हजार १४७ रहेको थियो ।
मूल्यवृद्धि
आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मूल्यवृद्धि ६.३२ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मूल्यवृद्धि ५.६९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मूल्यवृद्धि ६.८३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मूल्यवृद्धि क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो ।
तलब तथा ज्याला
आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो ।
२०८० असार महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.७१ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार महिनामा यस्तो सूचकाङ्क ९.०९ प्रतिशतले वृद्धि भएको थियो ।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०७९/८० मा नेपालबाट हुने कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई एक खर्ब ५७ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा ‘जिंक शिट’, ‘पार्टिकल बोर्ड’, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ । सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।
गत आर्थिक वर्ष कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको छ । सवारीसाधन तथा स्पेयर पार्टस, एमएस बिलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेललगायतका वस्तुको आयात घटेको छ ।
रेमिट्यान्स र वैदेशिक रोजगारी
आर्थिक वर्ष २०७९/८० मा नेपाल भित्रिने रेमिट्यान्समा २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाल भित्रिने रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई चार लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत आर्थिक वर्ष १.८ प्रतिशतले कमी आई दुई लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।
चालु खाता एवं शोधनान्तर स्थिति
आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
गत आर्थिक वर्ष शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
बाह्य लगानी स्थिति
२०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७२९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ ।
२०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति दुई खर्ब ७१ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
वित्त घाटा
आर्थिक वर्ष २०७९/८० मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति चार खर्ब ८६ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति दुई खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो ।
खर्च तथा राजस्व
आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल खर्च १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ रहेकोमा आव २०८०/८१ मा यस्तो खर्च १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थावापतको खर्च क्रमशः १० खर्ब पाँच अर्ब ७६ करोड, दुई खर्ब ३३ अर्ब ७० करोड र एक खर्ब ९० अर्ब ११ करोड रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) नौ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।
ऋण परिचालन
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब नौ करोड साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ ।
यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
२०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये, बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।
निक्षेप परिचालन
आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप नौ प्रतिशतले बढेको थियो ।
२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।
पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा
नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० असार मसान्तमा एक अर्ब ५० करोड लगानीमा रहेको छ ।
नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९७ अर्ब ६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड रुपैयाँ कर्जा रहेको छ । महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७१० ऋणीको दुई अर्ब ९१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
अन्तर–बैंक कारोबार
आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुबीच ३९ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) बीच तीन खर्ब ५२ अर्ब सात करोड रुपैयाँ गरी कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच २७ खर्ब ८४ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरुबीच तीन खर्ब १६ अर्ब २५ करोड रुपैयाँ गरी कुल ३१ खर्ब ३५ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।
वित्तीय पहुँच
इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १० हजार ५२८ रहेकोमा २०८० असार मसान्तमा ११ हजार ५८९ पुगेको छ ।
२०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या दुई हजार ५३२ रहेकोमा २०८० असार मसान्तमा दुई हजार ५१७ कायम भएको छ ।
पुँजी बजार
२०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ । २०८० असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।
२०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । जसमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, ६ लगानी कम्पनी, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो ।
गत आर्थिक वर्ष नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको थियो ।