
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रको छात्रवृत्ति वितरणमा ऐनले तोकेको मापदण्ड पूरा गर्न मातहतका संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।
नगर कार्यपालिकाअन्तर्गतको शिक्षा विभागले सूचना जारी गरेर कक्षा १ देखि कक्षा १० सम्मको छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो ।
महानगरले जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यहोरा अवगत गराएको छ ।
सूचनामा भनिएको छ, “कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी तोकिएबमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनुहुन अनुरोध छ ।”
छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३)बमोजिमको छात्रवृत्ति छनोट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्न गराउन महानगरले सूचित गरेको छ ।
महानगरले छनोट समितिमा रहने पदाधिकारीका विषयमा पनि स्मरण गराएको छ । जसअनुसार सम्बन्धित वडाको वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य संयोजक रहनेछन् । त्यस्तै, सदस्यहरूमा विद्यालयको प्रधानाध्यापक, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक (शिक्षा अधिकृत), विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावक प्रतिनिधि एकजना सदस्य रहनेछन् ।
शिक्षा अधिकृत नेत्रनारायण पौडेलले जारी गरेको सूचनामा महानगरका ३२ वटै वडाका वडा अध्यक्षहरूलाई आ–आफ्ना वडाअन्तर्गतका संस्थागत विद्यालयमा सहजीकरण गर्न महानगरले अनुरोध गरेको छ ।