site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीआईबीको अपुरो काम– महरा बाबुछोरा जोगाउन तस्करी होइन चोरीमा अनुसन्धान !

काठमाडौं । अघिल्लो वर्षको पुसको दोस्रो साता त्रिभुवन विमानस्थलबाट भित्रिएको भेप प्रकरण अझै सेलाएको छैन ।

९ किलो सुन भेपमा राखेर तस्करी गरिएको प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोराहरुको संलग्नताले तरंग सिर्जनामात्रै गरेको छैन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि पनि प्रश्न उठेको छ ।

अन्य विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई तत्कालै पक्राउ गरेर अनुसन्धान गरिएको भए पनि ९ किलो सुन प्रकरणमा आफ्नै नेताको नाम जोडिँदा अनुसन्धानसम्म पनि नगराएको भन्दै आलोचना भइरहेको छ ।

Dabur Nepal
NIC Asia

तर ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अझै जारी रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।  महराका बाबु–छोरामाथि प्रहरीले अनुसन्धान नै नगरी मुद्दा अभियोजन गरेको भन्दै प्रहरीको अनुसन्धानमाथिनै प्रश्न उठेको छ । 

प्रहरीले गरेको अनुुसन्धान प्रतिवेदन जस्ताको त्यस्तै अभियोजन गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयलेसमेत महरा बाबुछोरा बचाएको आरोप खेप्नुपरेको छ ।

तर, जिल्ला सरकारी वकिल कार्यालयले भने ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अझै जारी रहेको जनाएको छ । वकिल कार्यालयका प्रमुख अच्युमणी नेउपानेले ९ किलो सुन तस्करीको अनुसन्धान अझै बाँकी रहेको बताए ।

उनले भने, “हामीले भेप चोरी प्रकरणमा मुछिएका माथि पहिलो चरणमा अभियोजन बुझाएका हौँ । सुन तस्करी गर्ने समूहका आरोपीमाथि पछि प्रमाणले देखिएपछि अभियोजन गर्न मिल्ले गरेर अभियोजन गरेका हौँ । यसको अनुसन्धान अझैँ सकेको छैन ।”

महरा र उनका छोरा राहुलले सुन तस्करीमा संलग्न चिनियाँसँग पटक–पटक सम्पर्क गरेको अनुसन्धानबाट देखिएको छ । सम्पर्क भएको टेलिफोन रेकर्डमात्रै प्रहरीले अनुसन्धान प्रतिवेदनमा राखेको पाइएको छ । त्यसबाहेक अनुसन्धान अघि बढाएको छैन ।

९ किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो । 

कृष्णबहादुरका छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न (हाल फरार) चिनियाँ नागरिक लुई हानसोङ, दाओजिन वाङ र असिमसँग पटक–पटक सम्पर्क भएको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारेको छ ।

त्योबाहेक चिनियाँ नागरिक लुईका सहयोगीसँगसमेत राहुल महराको पटक–पटक सम्पर्क देखिएको छ ।  राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाईसमेतलाई भेप प्रकरणबारे टेलिफोन गरेको पाइएको छ ।

सो बारेको अनुुसन्धान प्रतिवेदन २७ असारमा सीआईबीले सरकारी वलिक कार्यालय काठमाडौंमा पेस गरेको थियो ।  सोही प्रतिवेदनको आधारमा पाँचजना पुर्पक्षको लागि थुनामा र तीनजना फरार छन् । एक जना अृमत कार्की भने धरौटीमा छुटेका छन् ।

चिनियाँ नागरिकत्रय लुई हानसोङ, दाओजिन वाङ र असिम भने फरार छन् ।

यस्तो थियो घटना

१० पुुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए ।  ७३ वटा बट्टामा ल्याइएको ७ सय ३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएका थिए । उक्त भेप त्रिभुवन विमास्थल जाँचका क्रममा ठूलो मात्रामा देखिएपछि भन्सार कार्यालयले रोक्यो । भन्सार कार्यालयलाईसमेत भेपभित्र सुन लुकाएर ल्याएको बारे जानकारी थिएन ।


जसकारण सामान करिब डेढ महिना भन्सारको गोदाममै थन्कियो । उक्त सामान गोदाममा हुँदा राहुल महराले चासो राखेका थिए ।  तर, उनको प्रयास सफल नभएपछि भन्सारकै कर्मचारीको सेटिङमा बजारबाट किनेर ल्याएर अर्को भेप भन्सारको गोदाममा राखेर सुन भएको भेप बाहिर बिक्री गरेको खुलेको थियो ।

उक्त भेपबारे गिरोहको सक्रियता शंकास्पद देखेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा त्यसमा सुन लुकाएर ल्याइएको नयाँ तथ्य खुलेको थियो ।  सोही अनुसन्धानबाट कर्मचारीकै संलग्नतामा सुन भएको भेप चोरी गरेर गोदाममा अर्को भेप राखेको खुलेको थियो ।

सो घटनापछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेका थिए । ब्यूरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा सुन तस्करी गर्ने गरेको खुलाएको हो । जसमा महराका बाबु–छोरासमेत मुछिएको छन् ।

सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि भेपसँगै नेपाल आएका ली १३ पुसमा नेपाल छोडेको खुलेको छ ।

हाल सुन तस्करी प्रकरणभन्दा पनि भेप चोरी प्रकरणमा जोडिएका विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि जेल चलान गरेको छ ।

चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने हाल फरार छन् ।

यसरी जोगिएका थिए महरा बाबुछोरा

भेपको सुन तस्करी प्रकरणमा सीआईबीले अपुरो अनुसन्धान गर्दा महरा बाबुछोरा जोगिएको पाइएको छ । सीआईबीले गरेको अनुसन्धानमा सुन तस्करी प्रकरण भन्दा पनि भन्सारमा रोकिएको भेप चोरी प्रकरणमा मात्रै केन्द्रित भएको थियो ।

सीआईबीले तस्करी प्रकरणमा जोडिएका आरोपीमाथि अनुसन्धान नै नगरी चोरी प्रकरणमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वलिक कार्यालयलाई बुझाएको थियो । स्रोतका अनुसार महरा बाबुछोरा जोगाउनकै लागि सीआईबीको अनुुसन्धान चोरीमा केन्द्रित रहेको छ ।

भन्सारको भेप चोरीमा संलग्न आरोपीसँग भने महरा बाबुछोराको सम्पर्क देखिँदैन । महरा बाबुछोराबाहेक चिनियाँ नागरिकहरुकोसमेत चोरीमा संलग्नहरुसँग सम्पर्क देखिँदैन ।   त्यसरी सीआईबीले तस्करी गर्ने समूहलाई छोडेर सुन चोरी गर्नेमाथि मात्रै अनुसन्धान गरेको जनाएको छ ।

सीआईबी स्रोतले भन्यो, “तस्करी प्रकरणका कुनै पनि आरोपी नै पक्राउ परेका छैनन् । फोन सम्पर्कका आधारमा मात्रै कसैलाई पक्राउ गर्ने र मुद्दा चलाउने कुरा हुँदैन । तस्करीमा संंलग्न आरोपी पक्राउ परे उनीहरुको बयानका आधारमा अरु कसैको संलग्नता देखिए पक्राउ गरिने हो त्यो प्रक्रियामै हामी पुगेका छैनौँ ।”

अनुसन्धानमा संलग्न एक अधिकारीले भेप ल्याउने चिनियाँ नागरिक पक्राउ परे महरा बाबुछोरासमेत अनुसन्धानमा तानिन सक्ने दाबी गरे ।

“तस्करीमा संलग्न चिनियाँसँग उनीहरुको सम्बन्ध थियो भन्ने कुरामा शंका नरहे पनि सुन तस्करी प्रकरणमा सहयोगी भूमिका थियो कि थिएन भन्ने खुल्न सकेको छैन, यदी तस्कर समूहका कुनै पक्राउ परे हामी उनीहरुमाथि पनि अनुसन्धान गर्छौँ । अनुसन्धान अझै जारी छ,” सीआईबी स्रोतले भने ।

पहिलो चरणमा संगठित अपराध अनुसन्धानको ६० दिनको समय सीमाभित्र भेप चोरीमा संलग्नहरुको मात्रै मुद्दा दायर गरिएको सुन तस्करी प्रकरणमा जोडिएकाहरुमाथिको अनुसन्धान बाँकी रहन पुगेको सीआईबीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले पनि भेप प्रकरणमा जोडिएका सुन तस्करीमाथिको अनुसन्धान जारी नै रहेको र प्रमाण भेटिए फेरि अनुसन्धान हुने बाह्रखरीलाई बताए । कृष्णबहादुर महराले भने चिनियाँ दाओजिन वाङसँग आफ्नो पुरानो सम्पर्क रहेको आधारमा कुराकानी हुने र सुन तस्करी प्रकरणमा आफूलाई नजोड्न सार्वजनिक रुपमा आग्रह गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro