site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

Argakhachi Cement Island Ad

कम्पनीले जारीपुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका आठ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो ।

दुई करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दुई लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरेको थियो । त्यसैगरी, कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र एक लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिसकेको छ ।

आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । तर, सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ‘मेरो सेयर’ वेबसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले दोलाखाको गौरिशंकर गाउपालिकामा पाँच मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यो आयोजनाको कुल अनुमानित लागत एक अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३७ पैसा ऋणत्मक रहेको छ । त्यस्तै वास्तविक प्रतिसेयर नेटवर्थ २०७८/७९ सम्म ७४ रुपैयाँ रहेको छ । यसैका आधारमा नेप्सेले पहिलो कारोबार रेन्च तोक्ने गरेको छ । कम्पनी उक्त अवधिसम्म १३ करोड ४१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्