काठमाडौं । देशका ७४ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ । दैनिक एकहजार बढी संक्रमित थपिरहेका छन् । शुक्रबारसम्म १२ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । जेठ अन्तिमयता मात्रै ११ जनाको डेंगीबाट मृत्यु भइसकेको छ ।
डेंगीका लक्षण बोकेर अस्पताल पुग्नेहरूलाई कतिपय स्थानीय तहले निःशुल्क परीक्षण गराइरहेका छन् । तर, संघीय राजधानी काठमाडौंका कतिपय कहलिएका अस्पतालले संक्रमितबाट चर्को शुल्क असुलिरहेको पाइएको छ ।
सन् २००४ यता वर्षैपिच्छे फैलिँदै आएको डेंगीको परीक्षणका लागि सरकारले शुल्कमा अझै एकरूपता ल्याउन सकेको छैन ।
चर्को शुल्क असुल्छन्, ठूला अस्पताल र ल्याबहरू
सरकारी अस्पतालहरूमा डेंगी परीक्षणका लागि प्राय: उस्तै शुल्क भए पनि निजी अस्पताल र ल्याबहरूमा भने शुल्कमा ठूलो अन्तर देखिन्छ ।
प्रमुख सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगी परीक्षणको शुल्क ५०० रुपैयाँ लिइन्छ । सीबीसी परीक्षण गर्नुपरेमा थप १५० सहित ६५० रुपैयाँमा डेंगीको पूर्ण परीक्षण हुन्छ ।
वीर अस्पतालले पनि ६७५ रुपैयाँमा यो दुवै परीक्षण गर्दै आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रायोगशालाले प्याकेजमा नै ८०० रुपैयाँमा डेंगीको पूर्ण परीक्षण गराउँदै आएको छ ।
तर, निजी अस्पतालहरूले डेंगी परीक्षण मात्रैको शुल्क एकहजार ८०० सम्म लिने गरेका छन् ।
कोरोनाकालमा निजीतर्फ सबैभन्दा धेरै नमुना परीक्षण गर्ने सानेपाको स्टार अस्पतालले डेंगी परीक्षणको मात्रै एक हजार ८०० रुपैयाँ लिने गरेको छ । सीबीसी परीक्षण गर्नुपरे थप ६०० रुपैयाँ गरी डेंगी संक्रमितले एकपटकको परीक्षणमा दुई हजार ४०० रुपैयाँ बुझाउनुपर्ने अस्पतालका कर्मचारी बताउँछन् ।
उपत्यकाभित्र नाम कहलिएको प्रयोगशाला क्रिस्टल डाइग्नोस्टिकले प्याकेजमा भन्दै डेंगी परीक्षणको एकहजार आठसय रुपैयाँ लिने गरेको छ ।
त्यस्तै, थापाथलीस्थित नर्भिक अस्पतालले डेंगी परीक्षणमात्रैको शुल्क एक हजार २०० रुपैयाँ लिँदै आएको छ ।
प्याकेजको नाममा ठगी
डेंगी संक्रमण भए/नभएको पहिचान मात्रैका लागि एनएस १, आईजीजी, आईजीएम परीक्षण गरिन्छ । जसले रगतमा प्रोटिन, इम्युनोग्लोबिलिन आदीको अवस्था बताउँछ । व्यक्तिमा डेंगी भाइरसको असर रहेन नरहेको यही परीक्षणले पत्ता लगाउन सक्छ ।
यदि डेंगीको रिपोर्ट पोजिटिभ आएमा मात्रै सीबीसी (कम्प्लिट ब्लड काउन्ट) परीक्षण गराउनुपर्ने हुन्छ । जसले रातो सेतो रगत, प्लेट्लेट्स्, हेमोग्लोबिन आदिको अवस्था बताउँछ । अधिकांश सरकारी अस्पतालमा एउटै र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी किटमार्फत तीनवटै परीक्षण गर्ने गरिएको छ । कतिपय ल्याबले छुट्टाछुट्टै किट प्रयोग गर्ने गरेका छन् ।
तर, कतिपय निजी अस्पतालले भने सामान्य लक्षण भएका बिरामीलाई समेत प्याकेज वा प्यानलको नाममा चर्को शुल्क असुल्ने गरेको पाइएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन ज्वरोको अन्य कारण वा डेंगीबाहेकका अन्य संक्रमणको शंका भएमा प्यानलमा रहेका परीक्षणहरू गराइन्छ ।
तर, कतिपय निजी अस्पताल तथा ल्याबहरूले सुरुमै बिरामीलाई प्यानलबाापत्को शुल्क लिने गरेको बिरामीहरूको गुनासो छ । अन्य कुनै संक्रमण होस् या डेंगी चिकित्सकको परामर्शअुनसार मात्रै ल्याप परीक्षण गराउनुपर्ने र अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको सरुवारोग विशेषज्ञ डा. विमल चालिसे बताउँछन् ।
तर, केही ल्याबले बिरामीलाई फोन कलमा नै 'आफैँ परीक्षण गराउन लाग्नुभएको हो ? यति शुल्क लाग्छ' भन्दै प्रचार गर्ने गरेको पनि पाइएको छ ।
जब महामारी, तब ठगी
कोरोनाकालको दोस्रो लहरमा पीसीआर परीक्षण शुल्कमा स्वास्थ्य संस्था तथा ल्याब अनुसार मनोमानी शुल्क लिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रयोगशालालाई पीसीआरबापत एक हजारभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
तर, निजी अस्पतालले आआफ्नै ढंगले परीक्षण शुल्क लिएका थिए । अल्का, सुमेरूजस्ता काठमाडौंका नाम चलेका अस्पतालहरूले २४ सयदेखि २८ सयसम्म शुल्क असुलेका थिए ।
एकहजार ५०० रुपैयाँ रिएजेन्टका लागि मात्रै खर्च हुने भएकाले एकहजारमा पीसीआर परीक्षण सम्भव नहुने भन्दै निजी प्रयोगशालाहरूले परीक्षण नै बन्द गर्नेसम्मको धम्की सरकारलाई दिएका थिए ।
निजी अस्पताल तथा प्रयोगशालाको यो मनोमानी हेर्दा उनीहरूले महामारीलाई नागरिक ठग्ने मौकाको रूपमा प्रयोग गरेको देखिन्छ । नागरिकहरूलाई छिटो र आफ्नो पहुँचमा सेवा चाहिने हुँदा बाध्य भएर बढी शुल्क तिरिरहेको बुझाइ छ, डा. पुनको ।
'शुल्कमा एकरूपता कायम गर्दैछौँ'
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने डेंगीको परीक्षण शुल्कबारे धेरै गुनासो आएकाले शुल्कमा एकरूपता ल्याउने जवाफ दिन्छ । “कतै निःशुल्क पनि परीक्षण भइरहेको छ । कतै चर्को शुल्क लिएको पनि गुनासो आइरहेको छ । हामी शुल्कमा एकरूपता ल्याउन प्रयास गरिरहेकै छौँ । शुल्क यति भनेर निर्धारण गर्न पाए नागरिकलाई सहज हुने थियो,” स्वास्थ्यसचिव डा. रोशन पोख्रेल भन्छन् ।
नेपालमा डेंगी संक्रमण सुरु भएको १९ वर्ष बितिसकेको छ । गत वर्ष मात्रै संक्रमणका कारण ८८ जनाले ज्यान गुमाए भने ५४ हजार ७०० जना संक्रमित भए । योवर्ष पनि संक्रमण उच्च हुँदैजाँदा सरकार भने शुल्क निर्धारण समेतमा अलमलमा देखिएको छ ।