
काठमाडौं । नेपालले पछिल्लो एक वर्षमा ६ अर्ब १२ करोड २९ लाख २२ हजार रुपैयाँको जहाज तथा हेलिकोप्टरको पाटपुर्जा आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा नेपालले उक्त रकम बराबरको जहाज तथा हेलिकोप्टरको पाटपुर्जा आयात गरेको हो ।
चीन, भारत, फ्रान्स, अमेरिका, जर्मनी, दक्षिण कोरिया, पोल्यान्ड, श्रीलंका, भियतनाम, रुस, युक्रेन, क्यानडा, चेक रिपब्लिक, सिंगापुर, स्पेन, जापान, मलेसियालगायतका देशबाट नेपालले जहाज तथा हेलिकोप्टरका पाटपुर्जा आयात गरेको छ ।
पछिल्लो एक वर्षमा फ्रान्सबाट तीन अर्ब २० करोड ५५ लाख ९१ हजार, अमेरिकाबाट एक अर्ब ४८ करोड ६६ लाख २० हजार रुपैयाँ, चीनबाट २६ करोड ४४ लाख ७८ हजार रुपैयाँ, मलेसियाबाट साढे १४ करोडभन्दा बढीको जहाज तथा हेलिकोप्टरका पाटपुर्जा नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालले विभिन्न देशबाट पाँच अर्ब ८४ करोड ६६ लाख ८८ हजार रुपैयाँको जहाज तथा हेलिकोप्टरका पाटपुर्जा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।