
काठमाडौं । रुसले अमेरिकाले चाहेजस्तो छिटो युक्रेनसँगको युद्ध अन्त्यको लागि शान्ति सम्झौता नहुने बताएको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा शान्तिको लागि खुला भएको एबीसी न्युजले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि चलेको रक्तपात अन्त्य गर्न चाहेको बताउँदै आएका छन् ।
तर, युद्धविरामको सर्तहरूमा कीभ र मस्कोबीच सहमति नहुँदा अमेरिका निराश भएको छ । रुस–युक्रेन युद्ध दोस्रो विश्वयुद्धपछि युरोपमा चलेको सबैभन्दा ठूलो युद्ध भएको बताइएको छ ।
बुधबार रुसको राष्ट्रपति भवन क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददाताहरूलाई द्वन्द्व जटिल भएका कारण शान्ति प्राप्त गर्न पनि गाह्रो हुने बताए । उनले थपे, “रूसले जसरी पनि आफ्नो लक्ष्य हासिल गर्नुपर्छ ।” तर, मस्कोले यी लक्ष्य शान्तिपूर्ण तरिकाले प्राप्त गर्न प्राथमिकता दिने बताए ।
युक्रेनका विदेशमन्त्री एन्ड्रिइ सिबिहाले बुधबार युक्रेन जुनसुकै प्रस्तावमा शान्ति वार्ताका लागि तयार भएको बताए । उनले मस्कोले शान्तिको कठिन बाटोमा हिँड्न साँच्चै तयार रहेको प्रमाणित गर्नुपर्ने बताए ।
उनले सामाजिक संजाल एक्समा लेखे, “रूसले कम्तिमा ३० दिनको युद्धविराम स्वीकार गरेर शान्ति वार्ताका लागि ऊ साँच्चै तयार भएको देखाउनसक्छ । यदि, रूस ६० वा ९० दिने युद्धविरामको लागि तयार छ भने हामी पनि तयार छौँ ।”