site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रिमियम मूल्यमा रिलायबल नेपाल लाइफको आईपीओ निष्कासन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (साउन २३ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको छ ।

यो आईपीओ खरिदका लागि यही साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा आउँदो भदौ ५ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम पाँच हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीले कर्मचारीमा भने ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमै बिक्री गरिने जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको थियो । ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । बाँकी ९६ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । मेरोसेयर वेबसाइटमार्फत समेत आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ । यस्तो कम्पनीले क्रेडिट जोखिम वहन गर्न सक्ने जनाइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ सम्मको वास्तविक विवरणानुसार कम्पनी ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । गएको आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणानुसार कम्पनीले एक अर्ब रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro