काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा आज नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको मच्छिन्द्र फुटबल क्लबलाई भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीले चुनौती दिँदै छ ।
पारोले भुटानको लिग जित्दै एएफसी कपको छनोटमा स्थान बनाएको हो । मच्छिन्द्रले भने ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग एएफसीको लाइसेन्स नभएका कारण तालिकाको दोस्रो स्थानको हैसियतले सहभागिताको अवसर पाएको हो ।
मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले विपक्षीलाई सम्मान गरेर खेल्ने बताए । “हाम्रो तयारी पूरा भइसकेको छ । हामी पारोविरुद्धको खेलका लागि तयार छौँ । कमजोर पक्षमा सुधार गर्नका लागि हामीले नयाँ खेलाडीसँग सम्झौता गरेका हौँ,” केसीले भने, “र, हामी पारोविरुद्ध प्रयोग गर्नेछौँ । हामी विपक्षीहरूलाई सम्मान गर्छौँ र राम्रोसँग अध्ययन गरेका छौँ । उनीहरू विदेशी खेलाडीमा बढी निर्भर छन् ।”
पारोका मुख्य प्रशिक्षक पुष्प लामा शर्माले मच्छिन्द्रविरुद्ध जित निकाल्दै दोस्रो चरण प्रवेश गर्ने अपेक्षा राखेको बताए । “हामीले लिगका तीनवटा खेल खेलेका छौँ र पूर्ण रूपमा तयार छौँ । मच्छिन्द्र राम्रो टोली हो र हामी उनीहरूलाई सम्मान गर्छौँ । आशा छ, हामी अर्को चरणमा प्रवेश गर्नेछौँ,” शर्माले भने ।
मच्छिन्द्र र पारोबीचको खेल काठमाडौंको दशरथ रंगशालामा बेलुका ५ः३० बजे सुरु हुनेछ ।