काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले उपनिर्वाचन सम्पन्न भएको सय दिनको दिनमा विदेशमा रहेका सय नेपालीलाई स्वदेश फर्काउने र रोजगारीको ग्यारेन्टी गर्नेगरी विज्ञापन गरे ।
बुधबार सय दिन पुगेको अवसर पारेर उनले चितवनमा ‘ब्लू बस’ सञ्चालनमा ल्याए । उनले चुनावका बेला गरेको बाचा र गरेको कामका विषयमा अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
लामिछानेले मात्रै होइन सबैजसो राजनीतिक दलले यस्तै रोजगारीका आश्वासन बाँडेर घोषणापत्र तयार पार्ने गरेका छन् ।
गतवर्ष अर्थात् २०७९ सालमा देशमा स्थानीय, प्रदेश र संघ तीनवटै तहको निर्वाचन सम्पन्न भयो । स्थानीय तहको वैशाख, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिरमा भएको थियो । निर्वाचन अघि राजनीतिक दलहरुबीच तछाडमछाड नै चलेको थियो– कसले आकर्षक घोषणपत्र (प्रतिवद्धतापत्र) जारी गर्ने ।
घोषणापत्र हेर्दा सपनाका चाङ देखिन्थे ।
जारी गरिएका घोषणापत्रमा सबै दलहरुले नछुटाएको शब्द थियो– रोजगारी । घोषणापत्रमा सबै दलहरुले उत्तिकै माया गरेका थिए यो शब्दलाई ।
अहिले सरकारको नेतृत्त्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले घोषणापत्रमा लेखेको थियो, “आगामी पाँच वर्षभित्र २० लाख युवाहरूलाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसङ्ख्याको आधारमा पाँच सयदेखि एक हजार जनासम्म युवालाई अभिमुखीकरण तालिम, बिउ, पुँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।”
आफूले सरकारको नेतृत्त्व गरे युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने दाबी माओवादीले गरेको थियो । अहिलेको सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन अघि जारी गरेको घोषणापत्रमा पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको थियो ।
“वैदेशिक रोजगार बाध्यता बन्दा अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २३ प्रतिशत हुनु उल्लेख्य छ । अर्को दश वर्षमा यसलाई १०–१२ प्रतिशत विन्दुले घटाउन स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने उद्यममैत्री वातावरण बनाउने हाम्रो उद्देश्य छ,” कांग्रेसले घोषणापत्रमा भनेको थियो ।
अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले घोषणापत्रमा ‘आगामी पाँच वर्ष– हाम्रा २० ग्यारेन्टी’ भन्दै रोजगारीलाई उच्च प्राथमिकतामा राखेको थियो ।
घोषणापत्रमा एमालेले भनेको थियो, “काम, रोजगारी र सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि काम र नियमित कमाई सुनिश्चित गरिने छ । रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइने छ । रोजगारी र उद्यमशीलताउन्मुख स्वरोजगारीका लागि सिप, पुँजी र व्यावसायिक तालिम दिइने छ । सुरुवाती व्यवसाय गर्न चाहिने बिउपुँजी (सिड मनी) सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइने। कामदार वा श्रमिकको न्यूनतम ज्याला सुनिश्चित गरी समयानुकूल वृद्धि गरिनेछ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गरिने छ ।”
अन्य दलहरुले पनि घोषणापत्रमा वैदेशिक रोजगारीमा जानेको संख्या घटाउँदै देश भित्रै वर्षेनी लाखौं रोजगारी सिर्जना गर्ने उल्लेख गरेका थिए । तर यथार्थ दलहरुले घोषणापत्रमा उल्लेख गरेजस्तो भएन । उनीहरुले घोषणापत्र जारी गरेको एक वर्ष बितेको छ । यो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेन । नतिजा दलहरुले घोषणापत्रमा प्रतिवद्धता जनाएभन्दा ठिक उल्टो आएको छ ।
घोषणापत्र जारी गरेपछिको एक वर्षमा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उक्त संख्यामा नेपाली वैदेशिक रोजगारीका लागि १४४ देश पुगेका छन् । नेपालीहरु वैदेशिक रोजगारीमा जान सुरु गरेयता गत आर्थिक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपालीहरु रोजगारी खोज्दै विदेशिएका हुन् ।
“अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली गत वर्ष वैदेशिक रोजगारीमा गएका छन्,” वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बाह्रखरीसँग भने,“यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा जानु पछाडिको कारण के हो भन्ने बुझ्न हामीले पनि रिसर्च गरेका छैनौं ।”
गत वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये महिलाको संख्या ७२ हजार १३४ र पुरुषको संख्या ६ लाख ९९ हजार १९३ रहेको छ । वैदेशिक रोजगारीमा जानेहरुमध्ये महिला ९.३५ प्रतिशत र पुरुष ९०.६५ प्रतिशत रहेका छन् ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष औषतमा प्रत्येक दिन २ हजार ११३ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान नेपाल छोडेका छन् ।
कुन देशमा कति गए ?
गत आर्थिक वर्ष अर्थात् २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीको लागि मलेसिया गएका छन् । गतवर्ष २ लाख ५९ हजार ५९५ नेपाली मलेसिया गएको विभागको तथ्याङ्कले देखाउँछ । मलेसियापछि ठूलो संख्यामा नेपाली कामदार खाडी राष्ट्र गएको देखिन्छ ।
वैदेशिक रोजगारीको सिलसिलामा दोस्रो ठूलो संख्या कतार पुगेको छ । गतवर्ष एक लाख ३३ हजार २६२ जना नेपाली कतार पुगेका छन् ।
विभागका अनुसार गत वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) एक लाख १६ हजार १५९, साउदी अरेबिया एक लाख १२ हजार ७७७, कुवेत ४३ हजार ५०७, दक्षिण कोरिया २२ हजार ३३ र रोमानिया १४ हजार २२५ जना नेपाली कामदार गएका छन् ।
यस्तै, जापानमा ९ हजार ६४४, बहराइनमा ७ हजार ६९०, क्रोएसियामा ७ हजार ४४१, माल्टामा ६ हजार ३०३, साइप्रसमा ५ हजार ३१७, ओमानमा ५ हजार २९४, पोल्याण्डमा ५ हजार ११२ र माल्दिभ्समा ४ हजार ८६५ जना नेपाली वैदेशिक रोजगारीका क्रममा पुगेको विभागको तथ्याङ्कले देखाउँछ ।
युरोपतिर आकर्षण बढ्दै
पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीको लागि युरोपेली राष्ट्र जाने नेपालीको संख्या बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा रोमानिया, क्रोएसिया, माल्टा, पोल्याण्डलगायतका देशमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या बढेको हो ।
गतवर्ष रोमानिया, क्रोएसिया, माल्टा र पोल्याण्डमा मात्र ३३ हजारभन्दा बढी नेपाली वेदैशिक रोजगारीमा गएका छन् ।
“युरोपेली राष्ट्रमा जाने कामदारको तलब भत्ता राम्रो छ । यसैकारण पछिल्ला वर्षहरुमा त्यता जानेको संख्या बढ्दै गएको छ,” विभागका महानिर्देशक दहालले भने ।
कुन जिल्लाका बढी
गत आर्थिक वर्ष सबैभन्दा बढी वैदेशिक रोजगारीमा धनुषाबाट गएका थिए । विभागका अनुसार गतवर्ष धनुषाबाट ३९ हजार ५७९ जना वैदेशिक रोजगारीमा गएका थिए । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जाने दोस्रो ठूलो संख्या झापाबाट छ । उक्त समयमा झापाबाट ३३ हजार ५७० जना वैदेशिक रोजगारीमा गएका थिए ।
गतवर्ष सिरहाबाट २९ हजार ९२०, महोत्तरीबाट २८ हजार ८७१, सर्लाहीबाट २४ हजार ३५, रुपन्देहीबाट २३ हजार २५९ र सप्तरी २१ हजार ४७३ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कले देखाउँछ ।
सबैभन्दा कम जाने जिल्ला
गत आर्थिक वर्ष २०७९–८० मा वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लामा पर्छ मनाङ । विभागका अनुसार मनाङबाट २३९ जना गत वर्ष वैदेशिक रोजगारीमा गएका थिए । सोही अवधिमा मुस्ताङबाट २५५, डोल्पाबाट ५२८, हुम्लाबाट ५४७ र मुगुबाट ५५७ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने कस्ता छन् ?
वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षता भएका कामदारको संख्या सबैभन्दा कम रहेको छ । गत आर्थिक वर्ष उच्च दक्षता भएका २५७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा जानेमा व्यावसायिक (प्रोफेसनल) एक हजार १५३, अर्धदक्ष ६० हजार ५५५, दक्ष ५ लाख ६ हजार ७४६ र अदक्ष कामदारको संख्या दुई लाख दुई हजार ६१६ रहेको छ ।