
सिङ्गापुर । अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएकी एक महिलालाई आज मृत्युदण्ड दिएको छ ।
एम्नेस्टी इन्टरनेसनललगायत मानवअधिकारवादी संस्थाले प्राण हरणको उक्त दण्ड स्थगनका निम्ति गरेको अपिललाई बेवास्ता गर्दै ५० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएकी ४५ वर्षीया सरिदेवी जामानीलाई फाँसी दिएको हो ।
सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । सन् २०२२ को मार्चदेखि कार्यान्वयन गरिएको यो १५औँ मृत्युदण्ड हो । २० वर्षअघि यस्तै प्रकृतिको अपराधमा केशकर्तन एवं सौन्दर्य सेवा प्रदायक केन्द्रमा काम गर्ने ३६ वर्षीय एक महिलालाई झुन्ड्याइएको थियो ।
लागुऔषध नियन्त्रण कार्यालयले एक विज्ञप्ति निकालेर जामानीलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ । हेरोइन तस्करीमा दाषी मानिएका ७९ वर्षका मोहम्मद अजिज बिन हुसेनलाई गत बुधबार चङ्गी जेलमा मृत्युदण्ड दिइएको थियो ।
विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागु औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको अवस्थामा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ । लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी पनि एम्नेस्टीले गरेको छ ।
कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेको हो । अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टीजेसी)ले अगामी बिहीबार लागुऔषध मुद्दाका अर्का दोषीलाई मृत्युदण्डको सजाय हुन लागेको जनाएको छ । ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा सन् २०१६ मा पक्राउ परेका उनलाई २०१९ मा अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।
गत बुधबार र आज झुन्ड्याइएकाहरूलाई आममाफी दिन त्यो सम्भव नभए प्राणदण्डको सट्टा त्यसलाई आजीवन काराबासको सजायमा रुपान्तरण गर्न राष्ट्राध्यक्षसमक्ष अपिल पनि गरिएको थियो । रासस/एएफपी