site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिष्ट नेताहरुको चीन र भारत ‘मोह’ : के नेपालको रणनीतिक महत्व बढेको हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का पाँच जना नेता अहिले भारत भ्रमणमा छन् ।  भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा उनीहरु ६ दिनको लागि भारत गएका हुन् ।  माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी र केन्द्रीय सदस्यहरु रामेश्वर राय यादव र सुरेशकुमार राई भारत भ्रमणमा छन् । 

भारत भ्रमणमा रहेका माओवादी नेतालाई सत्तारुढ भाजपाले गरेका काम कारवाहीकाबारे जानकारी दिइनेछ ।  यसै सिलसिलामा उनीहरुले भाजपाका शीर्ष नेताहरुसँग सोमबार अन्तरक्रिया गरिसकेका छन् । 

पछिल्ला केही वर्षयता नेपाल, भारत र चीनका राजनीतिक पार्टीबीच अनौठो अभ्यास चलिरहेको छ ।  भारतको भाजपा र चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको खासगरी कम्युनिष्ट पार्टीहरुलाई आफ्नो देशमा निमन्त्रणा गरी आफ्ना एजेन्डाहरु ‘घोकाउने गरेको’ विश्लेषकहरुको टिप्पणी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आवतजावत एकतर्फी छैन, दुईतर्फी नै छ । भाजपा र सीपीसीका नेताहरु पनि नेपाल आउने गरेका छन् ।  सीपीसीका नेताहरुको आवत–जावत अझ बढी छ । अनुभव आदान–प्रदान, प्रशिक्षण, सांस्कृतिक आदान–प्रदानलगायतका बहानामा यस्ता भ्रमण हुने गरेका छन् । 

भाजपा र सीपीसीले किन नेपालका राजनीतिक दलका नेताहरुसँगको भेटघाट बढाएका होलान् त ? 

Global Ime bank

नेकपा (माओवादी केन्द्र)का विदेश विभाग प्रमुख तथा पूर्वसञ्चारमन्त्री राम कार्की भन्छन्, “विश्वमा चीन र भारतको उदय जसरी भइरहेको छ यसले नेपालको रणनीतिक भूमिका बढाउँदै लगेको छ । यसकारण देश–देशबीच मात्र होइन दुई देशका राजनीतिक पार्टी–पार्टीबीच पनि उनीहरुले सम्बन्ध बनाउन खोजेको देखिन्छ ।”

यसैवर्षको जेठ ५ गते माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्त्वमा २० सदस्यीय माओवादी नेताहरुको टोली चीन पुगेको थियो ।  उनीहरुले करिब दुईसाता चीनमा बिताएका थिए । 

चीनमा रहँदा सापकोटाले सीपीसीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका थिए । माओवादी टोली चीन प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक हुल नेताहरु चीन भ्रमणबाट फर्केका थिए । 

“सतहमा हेर्दा यस्ता भ्रमणको उद्देश्य पार्टी–पार्टीबीच सम्बन्ध बढाउने भन्ने देखिन्छ,” नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने,  “पार्टी राज्य सञ्चालनको महत्वपूर्ण अंग भएकोले पार्टी–पार्टीबीच सम्बन्ध राम्रो भए राज्य–राज्यबीचको सम्बन्ध पनि राम्रो हुन्छ भन्ने बुझाइले यस्तो अभ्यास भएजस्तो लाग्छ ।” 

भाजपाले गतवर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर नेपालका राजनीति पार्टीहरुसँगको पार्टीगत सम्बन्ध विस्तारलाई तिव्रता दिएको थियो । भाजपाको निम्तोमा दाहाल २०७९ असार ३१ गते भारत गएका थिए । 

यसअघि २०७८ असोज २१ गते नेपाली कांग्रेसका नेताहरु डा. प्रकाशशरण महत, अजय चौरासिया र उदय शमशेर जबरा भाजपाको पाहुना बनेर नयाँदिल्ली पुगेका थिए ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ चैतमा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा सुरुमै उनी भाजपाको मुख्यालय पुगेका थिए । 

प्रधानमन्त्रीको रुपमा भ्रमण गर्दा पार्टी कार्यालय गएको भन्दै त्यतिबेला देउवाको निकै आलोचना भएको थियो । नेपाली नेताहरुलाई भारत बोलाउने कार्यमा बढी सक्रिय भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाला देखिन्छन् । 

उनी दुई वर्षअघि नेकपा एमालेका नेता विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका थिए ।  नेपाल आउँदा तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए ।  त्यस्तो बेला नेपाल आएका चौथाइवालाले तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहाल र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट नगरी फर्केका थिए । 

भारतले हालसम्म बोलाएका पाहुनाहरुलाई हेर्दा यो भन्न सकिन्छ– नेपालमा जो सत्ता र शक्तिमा छ उसैलाई भाजपाले प्राथमिकता दिने गरेको छ र भ्रमणको लागि भारत बोलाउने गरेको छ । 

“विश्व राजनीतिमा चीन र भारतले आफ्नो स्थान खोजिरहेका छन् । यसैकारण छिमेकी देशका राजनीतिक दलहरुसँग पनि सम्बन्ध बढाउन खोजेको देखिन्छ । यस्तो बेला नेपालका राजनीतिक दलहरुले सन्तुलित सम्बन्ध बनाउनु पर्छ,” माओवादी केन्द्रका नेता कार्कीको बुझाई छ । 

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाला २०७८ भदौ महिनामा नेपाल आउँदा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासँग बालुवाटारमा राखीसमेत बाँधेका थिए । त्यतिबेला केही दिन ‘राखी कूटनीति’ले चर्चा पनि पाएको थियो । 

२०७८ पुसमा बिरामी भेट्न दिल्ली पुगेको बेला चौथाइवालासहित भाजपाको नेताहरुले आरजुसँग भेटवार्ता गरेका थिए ।  त्यसपछि २०७९ साउनमा उपचारको लागि दिल्ली जाँदा पनि आरजु र चौथाईवाालबीच भेटवार्ता भएको थियो । 

२०८० वैशाख पहिलो साता पनि भाजपा विदेश विभाग प्रमुख चौथाईवाला नेपाल आएका थिए । उनले प्रमुख दलका शीर्ष नेतालाई भेटेर फर्केका थिए ।   खासगरी यसअघि सीपीसीले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई चीन बोलाउने र आफ्ना नेताहरु नेपाल पठाउने गर्थ्यो । अहिले यसको सिको भाजपाले गरेको छ । 

र, यसैअनुरुप पछिल्लोपटक भाजपाले सत्तारुढ माओवादी केन्द्रका नेताहरुलाई भारतमा स्वागत गरेको हो ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले भाजपा र माओवादी केन्द्रको बढ्दो हिमचिमलाई सहज मानेका छैनन् ।  

उनले सामाजिक सञ्जाल ट्विटरमा नाम नलिई माओवादी नेताहरुको भारत भ्रमणलाई लिएर व्यङ्ग्य गरेका छन्, “राज्य–राज्य र पार्टी–पार्टी बीचको सम्बन्धका फरक–फरक आधार हुन्छन् भन्ने कुरा नबुझेर हो कि बढी बुझेर हो हाम्रा पूर्वक्रान्तिकारी कणहरूको पछिल्लो हर्कत पटक्कै बुझ्न नसकिने भो !” 

पार्टी र राज्य एउटै हुने एकदलीय प्रणालीका बाध्यता भिन्नै हुने भए पनि बहुदलीय प्रणालीमा दलहरूले राजनीतिका आधारमा मात्रै विभिन्न देशका दलहरूसँग मैत्रीसम्बन्ध कायम गर्ने उनको धारणा छ ।  कम्युनिष्ट इन्टरनेसनल, सोसलिस्ट इन्टरनेसनल, प्रोग्रेसिभ इन्टरनेसनल, रिम आदि त्यसरी नै बन्ने गरेको दाबी उनको छ ।  
 
डा. भट्टराईले भनेका छन्, “स्टालिन र हिट्लरले युद्धको विशिष्ठ घडीमा केही समय सैनिक गठबन्धन गरे तर उनीहरूको पार्टीबीचमा भ्रातृ÷भगिनी सम्बन्ध कायम गरेको कहिल्यै सुनिएन ! कि कसो हो ? पार्टी भनेको साइनबोर्ड मात्र हो भने त के भन्ने र ?” 

एमाले उपमहासचिव ज्ञवाली पनि माओवादी केन्द्र र भाजपाबीचको बढ्दो घनिष्टतालाई प्राकृतिक देख्दैनन् ।  फरक विचारधारा बोकेका दुई देशका पार्टीहरुबीच सम्बन्ध सुमधुर हुनेमा उनी शंका व्यक्त गर्छन् । 

“माओवादी र भाजपाको आइडोलोजी फरक छ । भाजपा हिन्दुको अजेण्डा बोकेर हिँडेको छ भने माओवादीले धर्म निरपेक्ष । भाजपाले भारतमा अल्पसंख्यकलाई दुःख दिएको, स्वतन्त्रतामा बन्देज लगाएको भन्दै अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको छ । यस्तोमा माओवादी र भाजपाको सम्बन्ध कसरी सुमधुर होला ?,” उनले भने । 

माओवादी केन्द्रका विदेश विभाग प्रमुख कार्की माओवादी र भाजपाबीच सैद्धान्तिक र वैचारिक सम्बन्ध भन्दा पनि कूटनीतिक र राजनीतिक सम्बन्ध विस्तार भइरहेको बताउँछन् । चिनियाँ कम्युनिष्ट पार्टीसँग जस्तो भाजपासँग माओवादीको विचार र सिद्धान्त नमिल्ने उनले जनाए । 

“भाजपासँग हुने भनेको कूटनीतिक र राजनीतिक सम्बन्ध मात्र हो, सैद्धान्तिक र वैचारिक सम्बन्ध हुन सक्दैन,” उनले भने ।

भाजपासँग सैद्धान्तिक र वैचारिक भिन्नता रहेको बताउने नेकपा एमाले र माओवादी केन्द्रले भने सीपीसीसँग आपसी सहयोग र सहकार्यका लागि सम्झदारीपत्रमा हस्ताक्षर नै गरेका छन् । प्रशिक्षणका कार्यक्रमहरु निरन्तर चलाउँदै आएका छन् । 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको बेला २०७६ असोज ७ गते नेकपा र सीपीसीबीच काठमाडौंमा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  तत्कालीन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए । 

समझदारीपत्रमा हस्ताक्षर गरेलगत्तै नेकपा र सीपीसीले संयुक्त रुपमा विचारधारात्मक प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए । प्रशिक्षणमा नेकपाका नेताहरुलाई ‘सी चिनफिङ’ पथबारे सिकाइएको थियो ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तहरु नेपाली नेताहरुलाई घोकाइएको थियो । 

सीपीसीको १९औं महाधिवेशनले ‘नयाँ युगका लागि चिनियाँ समाजवाद’ भनेर सीको विचारधारा पारित गरेको थियो । विचारधारामा चीनमा मार्क्सवादको विकासक्रम, भ्रष्टाचार उन्मुलन, गरिवी निवारण, चीन र सीपीसीको अन्तर्राष्ट्रिय पहुँच र आर्थिक विकास जस्ता विषय समेटिएको थियो । तीनै विषयहरु प्रशिक्षणका नाममा नेकपाका नेतालाई पढाइँदै आइएको छ । 

पहिलो प्रशिक्षणको वर्षदिन बित्न नपाउँदै २०७७ असार ५ गते सीपीसी र नेकपाले संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरेका थिए ।  कार्यक्रमको आयोजना नेकपाको स्कुल विभाग र सीपीसीको अन्तर्राष्ट्रिय विभागले गरेको थियो । 

प्रशिक्षणमा नेकपाका एक सय जना नेता सहभागी थिए ।  नेकपाको तर्फबाट पुष्पकमल दाहाल र ईश्वर पोखरेल र सीपीसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले प्रशिक्षण दिएका थिए ।  सीपीसीका नेताले पार्टी अनुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा नेकपा नेतालाई प्रशिक्षण दिएका थिए । कोभिडका कारण प्रशिक्षण भर्चुअल माध्यमबाट गरिएको थियो । 

“चीन र हाम्रो राजनीतिक प्रणालीमा धेरै फरक छ । अनुभव साटासाट गर्नु एउटा कुरो भयो तर प्रशिक्षणका नाममा एकाध कार्यक्रम कसरी बने यो मलाई नै उचित लागिरहेको छैन,” एमालेका उपमहासचिव ज्ञवालीले भने । 

नेकपा बन्नुअघि सीपीसले एमाले र माओवादीसँग अलग अलग सम्बन्ध राख्दै आएको थियो । पछि अदालतले एमाले र माओवादीलाई अलग गराएपछि सीपीसीले पुनः अलग अलग नै एमाले र माओवादीसँग सम्बन्ध राख्दै आएको छ ।
 
सीपीसीले प्रशिक्षण र सांस्कृतिक आदान–प्रदानका नाममा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रलाई मिलाउने प्रयास पटक पटक गर्दै आएको छ । तर सोचेजस्तो सफलता हात पार्न सकेको छैन ।  

सीपीसीको नेपालका कम्युनिष्ट पार्टीप्रति मोह निकै बढी नै देखिन्छ । पछिल्ला एक दशक यताको आवतजावतले यसलाई पुष्टि गर्छ । 

२०७२ सालमा एकै महिना नेकपा एमालेका तीन टोली सीपीसीको निमन्त्रणमा चीन पुगेका थिए । तत्कालीन एमाले महासचिव ईश्वर पोखरेलले एकलौटी रुपमा आफू निकटलाई मात्र चीन पठाएको भन्दै त्यतिबेला एमालेकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए । 

२०७४ भदौ महिनामा नेकपा एमालेका दुई टोली सीपीसीको निमन्त्रणमा चीन पुगेको थियो । तत्कालीन उपमहासचिव घनश्याम भुसालको टोली चीनबाट फर्केलगत्तै प्रदीप ज्ञवालीको टोली चीन गएको थियो । ज्ञवालीले चिनियाँ नेताहरुलाई जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिएका थिए । 

२०७५ भदौमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सीपीसीको निमन्त्रणामा चीनको भ्रमण गरेका थिए ।  चीनका राष्ट्रपतिले भेट नदिए पनि उनी बेइजिङ नपुगी फर्केका थिए ।  २०७६ असोज महिनामा नेकपाका २९ जना नेताले चीन भ्रमण गरेका थिए । 

स्थानीय तहका प्रमुख र उपप्रमुख समेटिएको उक्त टोलीले १० दिन कुनमिङमा बिताएको थियो ।  यसअघि २०७६ भदौमा नेकपाकै १८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहरी विकास, विपद् व्यवस्थापन र रोकथाम विषय अध्ययन गर्न सीपीसीको निमन्त्रणमा चीन पुगेका थिए । यही महिना झलनाथ खनालले पनि चीनको भ्रमण गरेका थिए । 

२०७६ सालमा परराष्ट्रमन्त्रीको रुपमा प्रदिप ज्ञवाली, मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल, मुख्यमन्त्रीको रुपमा डोरमणि पौडेल, काठमाडौं महानगरपालिकाको मेयरको रुपमा विद्यासुन्दर शाक्य र एमाले नेताको रुपमा माधव कुमार नेपालले चीन पुगेका थिए । 

सीपीसीले नेपालका राजनीतिक दलहरुसँग २०७८ जेठ महिनामा भर्चुअल बैठक गरेको थियो ।  बैठकको एजेन्डा कोरोना महामारीको अवस्था र रोकथामका उपाय राखिए पनि सबै विषयवस्तुमा छलफल भएको थियो । 

भर्चुअल बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट तत्कालीन महासचिव ईश्वर पोखरेल, कांग्रेसको तर्फबाट नेता डा. नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए । सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख चेन झोउले बैठकमा अध्यक्षता गरेका थिए । 

२०७८ चैतमा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक टोली चीन गएको थियो ।  यसको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली चीन पुगेको थियो ।  सांस्कृतिक आदानप्रदानका नाममा यी भ्रमण भएका थिए । 

२०८० जेठको तेस्रो साता सीपीसी र माओवादी केन्द्रका नेतारुहबीच भेटवार्ता भएको थियो ।  सीपीसी सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुई काठमाडौं आई पेरिस डाँडामा माओवादी नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा माओवादी केन्द्रका नेता देव गुरुङलगायत थिए ।

अहिले सीपीसीका पोलिट्ब्युरो सदस्य युआन च्या म्युनको नेतृत्वमा आएको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ ।  युआनसँग प्रधानमन्त्री दाहालले इटालीबाट भर्चुअल कुराकानी गरिसकेका छन् ।  युआनले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार राति कम्बोडियाबाट फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनले भेटवार्ता गरेका छन् । 

सीपीसी र नेपालका कम्युनिष्टहरुको मिलनविन्दु ‘मार्क्सवाद’ भएको विश्वास माओवादी केन्द्रका नेता कार्कीको छ ।  दुवैको विचार मिल्ने हुँदा प्रशिक्षण पनि दुईतर्फी नै हुँदै आएको उनी बताउँछन् । यस्तो प्रशिक्षणले नकारात्मक असर नगर्ने बुझाई उनको छ ।

तर, एमाले उपमहासचिव ज्ञवाली भने चीन र नेपालमा फरक–फरक राजनीतिक प्रणाली भएका कारण विचारमा पनि त्यति नै भिन्नता रहेको बताउँछन् ।  यस्तो अवस्थामा दुई देशका राजनीतिक दलहरुले आफ्नो अनुभव साटासाट गर्न मिल्ने तर प्रशिक्षण नै चलाउन नहुने उनको तर्क छ । 

“चीन सफल छ, विकास गरेको छ तर हाम्रो आफ्नै बाटो छ र त्यो फरक पनि छ । अनुभव साटासाट गर्नसम्म ठिक हुन्छ, प्रशिक्षण उचित हुँदैन,” ज्ञवालीले भने । 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल दुई देश र दुई देशका पार्टीबीच सम्बन्ध हुनुलाई राम्रो मान्छन् ।  अझ सिद्धान्त मिल्ने पार्टीबीच सम्बन्ध राम्रो बनाउन सकिने उनको बुझाई छ ।  तर उता (चीन) कार्यान्वयन गरिएका सिद्धान्तहरु आफ्नो देशमा लागू गर्न खोजे त्यसले असर गर्ने उनी बताउँछन् । 

“चीन र नेपालले अँगालेको राजनीतिक प्रणाली भिन्न छ । चिनियाँ शासन प्रणालीका सिद्धान्तबाट प्रशिक्षित भई नेपालमा पनि त्यही लागु गर्न खोज्ने हो भने त्यसले पक्कै पनि असर गर्छ । अझ यो क्रम बढ्दै गए दीर्घकालसम्म असर हुन्छ,” कांग्रेस नेता रिजालले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय