site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशका अधिकांश जिल्लामा फैलियो डेंगी, धरान बन्याे हब

विराटनगर । कोसी प्रदेशका अधिकांश जिल्लामा डेंगी रोग फैलिएको छ । सुनसरीको धरान उपमहानगरपालिका सबैभन्दा बढी डेंगीको मारमा परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोसी प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगीका बिरामी फेला परेका छन् । तर, सुनसरीमा भने यो संख्या सबैभन्दा धेरै छ ।

निर्देशनालयका अनुसार सुनसरीमा हालसम्म २२० जनामा डेंगी पुष्टि भइसकेको छ । परीक्षण दर बढ्दै जाँदा यो संख्या अझ थपिने स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । उनले भने, “विगतजस्तै यो बर्खामा पनि केही जिल्लामा अधिक बिरामी फेला पर्ने देखिएको छ । नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालय र स्थानीय तहसँगको समन्वयमा काम सुरु गरेका छौं ।”

कार्यालयको तथ्यांकअनुसार मोरङमा २५ र झापामा २४ जनामा डेंगी पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशका विभिन्न ११ जिल्लामा ३१२ जनामा रोग पुष्टि भएको छ । 

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको अधिक चाप छ । साउनको पहिलो सातामात्र पहाडी जिल्ला तेह्रथुम, भोजपुर र खोटाङमा समेत डेंगी संक्रमित फेला परेका छन् । हिमाली जिल्ला ताप्लेजुङ एकजनामा रोग पुष्टि भएको छ । सोलुखुम्बु, उदयपुर र पाँचथर भने बिरामी भेटिएका छैनन् ।

विगतजस्तै प्रकोपकै रूपमा डेंगीको फैलन सुरु भएपछि धरानमा विशेष सतर्कता र उपचारको अलग्गै प्रबन्ध गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगीका बिरामीको उपचार गर्न छुट्टै डेंगी क्लिनिक सुरु गरेको छ । 

असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगी क्लिनिक संचालन गरिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार क्लिनिकमा प्रतिष्ठानले छुट्टै चिकित्सक, नर्स, पारामेडिक्सलगायत जनशक्तिको व्यवस्थापन गरेको छ । यसैगरी धरान उपमहानगरले डेंगी परीक्षण किट, टेन्ट र कुर्सीको व्यवस्था गरेको छ ।
 
पोखरेलले भने, “सातौ दिन क्लिनिक संचालन गर्ने प्रबन्ध गरिएको छ । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म बिरामीले स्वास्थ्य परीक्षण गर्न सक्नु हुनेछ ।” जटिल किसिमका बिरामीलाई प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्ने व्यवस्था गरिएको छ । प्रतिष्ठानमा परीक्षण गर्न पुगेका मध्ये ८० प्रतिशतमा डेंगी पुष्टि हुने गरेको छ ।

धरान उपमहानगरको जनस्वास्थ्य महाशाखाका अनुसार वडा नं. ११, १५ र १७ मा अधिक संक्रमण फैलिएको छ । बिरामीको संख्या बढ्न थालेसँगै बीपी प्रतिष्ठानले परीक्षण किट अभाव हुनसक्ने भएकाले संघीय र प्रदेश सरकारसँग थप किट माग गरेको छ । डेंगी संक्रमण कम गर्न महाशाखा तथा अन्य संघसंस्थाको पहलमा जनचेतना फैलाउने कार्यसमेत सुरु भएको छ ।  

कोसी प्रदेशको राजधानी विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर मानबहादुर मगरले जिल्लाजिल्लाबाट परीक्षण किटको माग बढ्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग थप किट माग गरिएको बताएका छन् । 

चिकित्सकका अनुसार सामान्य अवस्थामा आउनेभन्दा डेंगी लागे निकै तीव्र ज्वरो आउँछ । खानाको स्वाद थाहा नपाउनु, एकनाशले टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नु डेंगीका लक्षण हुन् । धरान क्षेत्रमा पिउने पानीको अभावका कारण धेरै मानिसले खुला रुपमा भाँडा तथा ट्यांकीमा पानी भण्डारण गर्दा रोग थप फैलिन पुगेको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro