काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने कुनै पनि प्रयास रुससँग 'युद्धको घोषणा' हुने बताएका छन् । आउँदो महिना रुसी राष्ट्रपति पुटिनले दक्षिण अफ्रिकाको भ्रमण गर्ने सम्भावना छ ।
त्यसअघि रामाफोसाले मंगलबार भनेका छन्,“रुसले आफ्ना वर्तमान राष्ट्रपतिलाई गिरफ्तार गर्नु युद्धको घोषणा हुने छ भनेर स्पष्ट गरिसकेको छ ।”
दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनमा पुटिनलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
तर, पुटिनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले वारेन्टी जारी गरेको छ । आईसीसीको सदस्य भएकै कारण प्रिटोरिया (दक्षिण कोरियाको राजधानी)ले त्यसको कार्यान्वय गर्ने अपेक्षा गरिएको छ ।
दक्षिण अफ्रिकाको प्रमुख प्रतिपक्षी दल प्रजातान्त्रिक गठबन्धन (डीए)ले पुटिनले देशमा पाइला टेके आईसीसीलाई सुम्पिने सुनिश्चित गर्न अदालतमा निवेदन दिएको छ ।
यसको प्रतिक्रियामा रामाफोसाले सो निवेदन गैरजिम्मेवार र राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भनेका छन् ।
पुटिनको गिरफ्तारी कार्यान्वयन गर्दा राज्यको सुरक्षा, शान्ति र व्यवस्थालाई खतरा पर्ने उनको भनाइ छ ।
अल्जजिराबाट ।