site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयलाई नै प्रश्न उठाउने तयारी !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक वर्षपछि बैठक बस्न लागेको हो । 

कांग्रेस महानमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । तर, आजको बैठकमा संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्न उठाउने तयारी गरेको छ । 

सभापति निकट केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयकै कारण पार्टी विधानसम्मत सञ्चालन हुन नसकेको निष्कर्ष निकालेका छन् । सभापतिलाई विधान कार्यान्वयनमा जिम्मेवार बनाउन छाडेर दुवै महामन्त्री लोकप्रियतामा लागेको देउवा निकट केन्द्रीय सदस्यको आरोप छ । 

विशेष गरेर केन्द्रीय समिति बैठक नबोलाउने, उपनिर्वाचनको नेतृत्व गरे पनि दलको उमेदवारलाई विजय गराउन नसेको, संसदीय दलको चुनाव हारे पनि दलको नेता फेर्छु भन्दै हिँड्कोजस्ता विषयमा संस्थापन पक्ष असन्तुष्ट छ । पार्टीबाट युवा र कार्यकर्ता पलायन भइरहँदा तथा भ्रातृ संस्था तथा विभागहरू गठन नहुँदा पनि महामन्त्रीद्वयले  हस्तक्षेपकारी भूमिका खेल्न नसकेकोजस्ता प्रश्न उठाउने तयारीमा रहेको एक केन्द्रीय सदस्यले बताए । 

पार्टी विधानको धारा २७ ले महामन्त्रीहरूलाई १२ वटा अधिकार दिएको छ । जसमध्ये पार्टी कार्यालय नै महामन्त्रीको मातहत रहने र त्यसको रेखदेख र सञ्चालन गर्नुपर्ने जिम्मेवारी महामन्त्रीद्वयको हो । यस्तै, पार्टी केन्द्रीय समितिहरूले गरेको निर्णयहरू कार्यान्वयन गराउने, दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग गर्ने तथा महत्त्वपूर्ण विषयमा सभापतिलाई जानकारी दिने, पार्टी सदस्यताबारे धारा ४ को उपधारा ९ बमोजिमको काम महामन्त्रीको गर्नुपर्छ ।

सभापति देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप महामन्त्रीद्वयले लगाउँदै आएका छन् । देउवाकै कारण पार्टी असफल भएको निष्कर्ष निकालेका महामन्त्री नेतृत्व फेर्नुपर्ने बताउँदै आएका छन् । जसमा संस्थापन पक्षका नेताहरूको स्पष्ट विमति छ । 

केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तोक्ने सम्भावना छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro