
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बर्खा लागिसकेकाले अब उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् ।
शनिबार (जेठ २४) झापाको हल्दिबारीमा सञ्चारकर्मीसँग उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दुराष्ट्रका निम्ति मात्र नभएको जिकिर गरे । उनले उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए ।
अध्यक्ष लिङदेनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनर्स्थापना, हिन्दुराज्यसँगै देशमा सुशासन र विकासका निम्ति पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले त्यो परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो ।
संविधानमा रहेका कतिपय विषयमा पार्टीको फरक मत रहे पनि केही राम्रा रहेको उनले उल्लेख गरे । रासस