
काठमाडौं । पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको पहिलो कथासंग्रह ‘सत्यम्’ एक कार्यक्रमबीच लोकार्पित भएको छ ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, साहित्यकार भुवनहरि सिग्देललगायतले पुस्तक सार्वजनिक गरे ।
प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले कृतिकार वियोगीको प्रसंशा गर्दै कथाका विविध आयामबारे चर्चा गरे । उनले कालजयी र लामो समय बाँच्ने कथा जन्माउनुपर्नेमा जोड दिए ।
प्रा.डा. भट्टराईले एउटा सर्जकका लागि पुस्तक नै महत्त्वपूर्ण भएको उल्लेख गर्दै वियोगीको ‘सत्यम्’मा समयको प्रतिविम्ब झल्किएको बताए ।
कार्यक्रममा डा. अशोक थापा र अनुपमा रेग्मीले कृतिमाथि समीक्षात्मक मन्तव्य राखे । थापा र रेग्मीले कथामा प्रस्तुत विषयवस्तु, त्यसले बोकेको समाज र समयको चर्चा गरे ।
कथाकार वियोगीले आफ्नो कथा लेखन र कृति सिर्जनाबारे बताए । वियोगी बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करण (२०७६)का दोस्रो विजेता कथाकार हुन् ।
पेज टर्नरले आयोजना गरेको कार्यक्रममा असमबाट आएका नेपालीभाषी साहित्यकार ज्ञानबहादुर क्षेत्री, कवि साहित्यकार भुवनहरि सिग्देलले कृतिबारे बोलेका थिए ।