
काठमाडौं । विपक्षी दलहरूले केही सातायता प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन् । सत्तापक्ष विपक्षीको मागमा सहमत छैन ।
जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता विपक्षीको अवरोध कायम छ । दुवै पक्षका आ–आफ्ना अडानका कारण यता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।
सत्तापक्ष र विपक्षी दलहरूबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि शुक्रबारको प्रतिनिधिसभाको बैठक पनि स्थगन भएको थियो ।
बोलाइएको संसद् सचिवालयले आज (आइतबार) दिउँसो १ बजेका लागि बैठक राखेको जनाएको छ ।
सदन खुलाउने विषयमा विपक्षी दलहरू केही लचक देखिएका छन् । शुक्रबार विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिनको विश्वसनीय आधार सरकारतर्फबाट आएमा सदन चल्न दिने संकेत गरेका थिए ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।