
काठमाडौं । फेसन डिजाइनर सेन्टर स्थापना गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फेसन डिजाइनरको हकहित र विकासका लागि यो संस्था बनाउने निर्णय गरिएको हो ।
सेन्टरको नवगठित कार्यकारिणी समितिको अध्यक्षमा राजेश धाख्वा, उपाध्यक्षमा सरिता तुलाधर, महासचिवमा मुक्ता श्रेष्ठ, सचिवमा रमिला नेमकुल, कोषाध्यक्षमा अनु श्रेष्ठ, सदस्यहरूमा मिशु श्रेष्ठ, सुष्मा सिंह, मनीष राई र बिनी बज्राचार्य छन् ।
नवनिर्वाचित अध्यक्ष धाख्वाले फेसन उद्योग, फेसन व्यापार, फेसन शिक्षाको विकास, यस क्षेत्रमा नयाँ प्रविधिको प्रयोग र राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासका लागि भूमिका निर्वाह गर्ने बताए ।
उनले फेसन व्यवसायसँग सम्बन्धित संस्था र विशेषज्ञलाई सेन्टरमा एउटै छानामुनि समेटेर यो उद्योगलाई अझ सशक्त बनाउने र उनीहरूको अधिकार र हकहितको रक्षा गर्ने आफूहरूको योजना रहेको बताए ।
संस्थाकी उपाध्यक्ष तुलाधरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत व्यावसायिक आद्धता तथा सक्रिय उपस्थिति जनाएर नेपाल र नेपालीको इज्जत, मान, प्रतिष्ठाको अभिवृद्धि गराउन यो संस्था स्थापित भएको बताइन् ।
सचिव नेमकुलले नेपालमा फेसन डिजाइन उद्योगको विकास र विस्तार गर्दै जाने क्रममा नेपाली समाज र संस्कृतिलाई पनि संयोजन गरेर लैजान सेन्टरले सशक्त भूमिका खेल्ने उल्लेख गरिन् ।