site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
७० करोड लगानीमा गोरखामा नयाँ पोल्ट्री फार्म ल्याउँदै व्यवसायी गुणचन्द्र विष्ट
गुणचन्द्र विष्ट । फाइल तस्बिर ।

काठमाडौं । अभिनाश ग्रुपका संस्थापक गुणचन्द्र विष्टले ७० करोड रुपैयाँ लगानीमा गोरखामा नयाँ अत्याधुनिक पोल्ट्री फार्म सञ्चालनमा ल्याउने तयारी गरेका छन् । ग्रुपअन्तर्गतको अविनाश आर्बर एक्र नेपाल (आन) प्रालिले गोरखा नगरपालिकाको वीरेनचोकमा पोल्ट्री फार्म सञ्चालनमा ल्याउन लागेको हो ।

निर्माणाधीन पोल्ट्री फार्म २०० रोपनी क्षेत्रफलमा फैलनेछ । ६ अत्याधुनिक पोल्ट्री हाउस निर्माण गरिनेछ ।

फार्ममा स्वचालित प्रविधिबाट कुखुरालाई दाना खुवाउने, अन्डा पार्ने र प्रकाशसहितको सुविधा हुनेछ । गएको वैशाखसम्म समग्र परियोजनाको प्रगति ५६ प्रतिशत पुगेको अभिनाश ग्रुपले जनाएको छ ।

पोल्ट्री फार्म सन् २०२६ (आउँदो पुसभित्र)को सुरुमा निर्माण सकाएर सञ्चालनमा ल्याउने तयारी छ । यसको कुल अनुमानित लागत ६९ करोड ९० लाख रुपैयाँ छ । २८ प्रतिशत स्वपुँजी (इक्विटी) र ७२ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ ।

कुखुरापालन व्यवसायमा समय–समयमा बर्ड फ्लु, एच फाइभ एनवान इन्फ्लुएन्जा भाइरसजस्ता प्रकोपले उद्योग जोखिममा पर्दै आएको छ ।

नेपाल कुखुराको मासुमा आत्मनिर्भर हुनुका साथै माग बढ्दो छ । बढ्दो सहरीकरण, जीवनशैलीमा परिवर्तन र स्वास्थ्य चेतनामा वृद्धिका कारण प्रशोधित र स्वच्छ रूपमा उत्पादित कुखुराको मासुको खपत निरन्तर बढिरहेको उद्योगले जनाएको छ ।

बेल्जियममा निर्मित पिटरसाइन सिग्नल स्टेज इन्क्यूबेटर प्रयोग गरेर पूर्वी नवलपरासीमा ह्याचिङ सञ्चालन गरिने उद्योगले जनाएको छ । फार्ममा अन्डा ग्रेडिङ र सर्टिङ पोइन्ट प्रणाली हुनेछ ।

कुखुरापालन व्यवसायलाई थप विस्तार गर्न विष्टले सन् २०२० मा आन स्थापना गरेका हुन् । उद्योगमा विष्टको ७० प्रतिशत हिस्सा छ । उद्योग सञ्चालकमा टीकाराम पोखरेल र कपिलबाबु खनाल छन् । आनले ७२ करोड २५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

०४६ सालमा अविनाश ह्याचरीको स्थापना गरेका विष्टले पछिल्लो समय एलपीजी, ऊर्जा र व्यापारमा लगानी विस्तार गरिरहेका छन् । विष्टद्वारा सञ्चालित अभिनाश मुलुककै पहिलो नम्बरको पोल्ट्री फार्म बनेको छ ।

अविनाश समूहअन्तर्गत अविनाश ह्याचरी, अविनाश फार्म र गौरीशंकर एग्रो इन्डस्ट्रिज सञ्चालनमा छन् । गौरीशंकर एग्रो इन्ड्रस्ट्रिजले सबै किसिमको जनावरका निम्ति दाना उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्