site stats
बाह्रखरी :: Baahrakhari
देश
अवैध लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थ करिब एक किलो ६० ग्रामसहित दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रोल्पा सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै, नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवाबाट करिब चार किलोग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ हिलेखर्क बस्ने ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ छन् । 

प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चित्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्