काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको भनाइ कोट गर्दैमा सबै योगदान सकियो त भन्दै प्रश्न उठाएका छन् । भारतका प्रितम सिंहले आफूलाई तपाईँ प्रधानमन्त्री बन्नुपर्छ भनेको प्रसंग उठाउँदा आफ्नो राष्ट्रियताको मान्यता र कन्भिक्सनमा प्रश्न उठाइएको गुनासो गरे ।
“म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि, कहिले दिमाग अगाडि हुन्छ,” प्रचण्डले भने, “दिमाग अगाडि हुँदा विज्ञानका विषय बोल्छु, मन अगाडि हुँदा, आवेग, भावना हुन्छ । यही हो प्रचण्ड । यो सदनका अगाडि योभन्दा बढी म के भन्न सक्छु ?”
उनले भावनाले चल्दैन भन्ने बुझ्दाबुझ्नै पनि कहिलेकाँही मनले जितेर भावनात्मक हुने गरेको बताए । उनले संसद्मा आत्मसमीक्षा गर्दै आफ्ना कमजोरी स्वीकार गरे । उनले प्रितम सिंहका विषयमा लेखिएको पुस्तकका विषयमा दिएको अभिव्यक्तिको प्रसंग यसरी सुनाएका थिए ।
“११ वर्षअघिको कुरा हो । मेरी छोरी ज्ञानु जटिल अवस्थामा पुगेर दिल्लीमा उपचारका लागि लगिएको थियो । त्यसबेला प्रितम सिंहले ठूलो सहयाोग गर्नुभएको थियो । उहाँले बेडबाट उठ्न नसक्ने भएकी छोरीलाई आफ्नो फ्ल्याटमा लगेर राख्नुभएको थियो,” छोरी ज्ञानुलाई उपचारका लागि दिल्ली लगेको प्रसंग सम्झँदै प्रधानमन्त्रीले भने, “त्यसबेला उहाँले मलाई प्रधानमन्त्री तपाईँ नै बन्नुपर्छ भन्नुभएको थियो । मैले उहाँलाई सद्भावका लागि धन्यवाद भनेको थिएँ । किनभने, त्यहाँभन्दा बढी कुरा गर्नुको कुनै औचित्य पनि थिएन ।”
उनले ११ वर्षअघि प्रितम सिंहले लगाएको गुन र भावनात्मक विषय स्मरण गर्दा त्यसको गलत अर्थ लागेको बताए ।
“राम्रा काम सम्झँदै गर्दा उहाँले त्यसबेला भनेको भावनात्मक कुरा सम्झिएँ । उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ, मसँग यसो भन्नुभएको थियो भनेर सम्झिएँ । र, त्यही कुरा मैले त्यहाँ भनेको हुँ,” उनले भने, “प्रधानमन्त्रीका रुपमा मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । तर, मैले त्यो छोरी उठ्न नसक्ने भएको बेड सम्झिएँ । म प्रधानमन्त्री भएरभन्दा पनि ज्ञानुका बा भएर बोलेको थिएँ ।”
उनले आफू भावनात्मक भएर त्यस्तो बोल्न पुगेको र भावनात्मक हुने कुरा आफ्नो वास्तविकता भएको बताए । “म अलिक भावनात्मक छु, सेन्टिमेन्टल पनि छु । नहुुनुपथ्र्यो, तर, के गर्नुहुन्छ, प्रचण्ड भनेकै यस्तै छु त !,” प्रचण्डले भने ।