site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिंहदरबारमा ‘समझदारी’, बानेश्वर पुगेर ओलीले ‘मान्न सकिँदैन’ भनेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार पनि सञ्चालन भएन । सुरुमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । पछि बैठकको समय सारेर दिउँसो ३ बजेलाई तय गरिए पनि बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कारण बैठक बस्न नसकेको नेताहरूले बताएका छन् । प्रतिनिधिसभा बैठक गएको बुधबारदेखि सञ्चालन हुन सकेको छैन । आइतबार बैठकै नबसी सूचना टाँसेर सोमबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरियो ।

संसद् बैठक सञ्चालनका लागि आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गरिएको छलफलमा उनीहरूबीच समझदारी भएको बताइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सहमतिमा पुग्न भन्दै दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक ३ बजेसम्मका लागि सार्न प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोनमार्फत आग्रह गरेका थिए ।

नेताहरूका अनुसार सिंहदरबारमा शीर्ष तीन नेता संसद् बैठक सञ्चालन गर्ने ‘समझदारी’सहित उठेका थिए । बैठकबाट बाहिरिने क्रममा ओलीलाई ‘छलफलको विषय के भयो ?’ भनेर सोधिएको प्रश्नमा ‘पछि हेर्नू’ भन्ने जवाफ दिएका थिए ।

Global Ime bank

उनीहरूबीच प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने, आफ्नो अभिव्यक्तिको विषयमा स्पष्ट पार्ने र बैठक सञ्चालनमा बाधा नगर्ने ‘सहमति’ भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको भनाइ छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने बताएका थिए । ‘एमाले आफ्नो अडानबाट पछि हटेको हो ?’ भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीको जवाफ सुन्ने र चित्तबुझ्दो नभए संसद् बैठक अघि बढ्न नदिने बताएका थिए ।

उनले प्रधानमन्त्री प्रचण्डले रोस्ट्रममा उभिएर गल्ती स्वीकार गरेर माफी मागे मात्र बैठक अघि बढ्ने प्रतिक्रिया दिएका थिए । “आज पनि हामी राजीनामा माग गरेरै सदनमा प्रस्तुत हुन्छौँ । प्रधानमन्त्रीले सदनमा आफ्नो विषय राख्नुहुन्छ, त्यो विचार स्वीकार्य हुन सके मात्र सदन अघि बढ्न हामी सहमत हुन्छौँ,” गिरीले बाह्रखरीसँग भनेका थिए, “चित्तबुझ्दो नभए सदन चल्दैन । प्रधानमन्त्रीको कुरा सुनिसकेपछि मात्र निर्णय गर्छौँ । त्यो गल्ती थियो भनेर माफी माग्नुभयो भने एकपटकलाई कन्सिडर गर्न सकिन्छ ।”

त्यसपछि सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरे । संसद् भवन नयाँ बानेश्वरमा सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफलकै बीच सभामुख घिमिरेलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेका थिए । प्रधानमन्त्रीले बैठक भोलिसम्मलाई स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

“आज मिति २०८० साल असार २४ गते आइतबार दिनको १ बजे बस्ने गरी तोकिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल असार २५ गते सोमबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

समझदारीपछि पनि बैठक किन सञ्चालन भएन ?
प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर सदन अवरोध गरिरहेको एमालेले समझदारीपछि पनि किन बैठक चल्न दिएन भन्ने प्रश्न उठाइएको छ । 

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीकै कारण बैठक चल्न नसकेको आरोप लगाए । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले एमालेका कारण नभई प्रधानमन्त्रीकै कारण संसद् अवरुद्ध भएको जिकिर गरे ।

बैठक सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको आरोप फिर्ता नभएकाले सहमति हुन नसकेको उनको भनाइ छ । प्रधानमन्त्रीको सचिवालयले यही असार २१ गते जारी गरेको वक्तव्यप्रति एमालेको गम्भीर आपत्ति रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म सहमति गर्न नसकिने उनले उल्लेख गरे ।

कांग्रेसका प्रमुख सचेतक लेखक भने एमालेकै कारण समस्या सिर्जना भएको जिकिर गर्छन् । “पहिला एमालेले प्रधानमन्त्रीको जवाफ सुन्ने, हाउस सुचारु गर्ने भन्ने शीर्ष नेताहरूमा सहमति गरेर निस्कियो । पछि उहाँहरूले पहिला जवाफ सुनौँ, त्यसपछि उहाँको जवाफ चित्त बुझ्छ कि बुझ्दैन हेर्छौँ भन्नुभयो,” लेखकले बाह्रखरीसँग भने, “उधारो सहमति गरेपछि त्यो कसरी लागु हुन्छ र ? त्यसकारण बैठक बस्न सकेन ।”

सत्तापक्षीय नेताहरूका अनुसार सिंहदरबारमा ओलीले समझदारीसँगै थप विषयमा छलफल गर्नुपर्ने भन्दै एक दिन संसद् बैठक सार्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले ‘लफडा नगरौँ, सहमतिमै सदन चलाऔँ’ भनेर आजको बैठक स्थगन गर्न लगाएको उनीहरूको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे ओलीकै कारण बैठक बस्न नसकेको जिकिर गर्छन् । “सहमति भयो भनेर हामी सदन पुगेका थियौँ । बैठकबाट निस्केपछि फेरि प्रधानमन्त्रीलाई फोन गरेर सहमति भएको छैन, हाम्रो तर्फबाट कुरा मिलेको छैन भनेर उहाँले प्रधानमन्त्रीलाई भन्नुभयो,” पाण्डेले भने, “सदन खुल्ने भनेपछि बैठक बस्न खोजिएको हो । तर, खुल्ने/चल्ने अवस्था नरहेपछि किन चलाउनु भनेर भोलिसम्म रोकियो ।”

सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादव पनि एमालेकै दोहोरो चरित्रका कारण बैठक चल्न नसकेको बताउँछन् । “सहमति गरेर जानुभयो, अनि फेरि चित्त बुझेन भनेर बैठक सार्न लगाउनुभयो,” यादवले भने ।

एमालेका प्रमुख सचेतक गिरी आफूहरू सदन चलाउन तयार भए पनि अन्तिम समयमा प्रधानमन्त्रीले बैठक रोकेको जिकिर गर्छन् । “हामीले शीर्ष नेतृत्वमा भएको सहमतिअनुसार बैठक अघि बढाऔँ भनेर भनेका थियौँ । तर, प्रधानमन्त्रीले रोक्नुभयो,” उनले भने, “किन बैठक चलेन भनेर प्रधानमन्त्रीबाटै जवाफ खोज्नुपर्छ । प्रधानमन्त्रीले भनेपछि बैठक रोकियो । हामी बैठक चलाउने पक्षमा थियौँ ।”

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य सिंहदरबारमा शीर्ष तीन नेताबीच सहमति भएको बताउँछन् । “तीन नेताबीच प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन चल्ने सहमति भएको हो । तर, बैठक किन चलेन त्योचाहिँ दलका नेताहरूलाई नै थाहा होला,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरिरहेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको बताएका थिए । सो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement