
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले टिप्पणी नगर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनुअगाडि नै क्रियाशील सदस्यको विषय टुंगो लाग्नुपर्ने बताए । उनले हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।
कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको बताए ।
महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए । रासस