पोखरा । कोरोना महामारीसँगै सुस्ताएको पोखराको पर्यटन क्षेत्र यतिबेला आशावादी छ । पर्यटनका क्षेत्रमा सकारात्मक आशाका किरण सञ्चार भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनेर उद्घाटन भई सञ्चालन भइसकेको महिनौँसम्म पनि कुनै पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी निराश थिए ।
त्यसैले उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै भेटेर एयर रुटको बारेमा कुरा गरे । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गरिदिन अनुरोध गरे । प्रधानमन्त्रीलाई नै भेटेर एयररुटको बारेमा कुराकानी गरेता पनि तत्काल भारतले यो विषयमा प्रवेश नै गर्नै चाहेन । त्यसले निराश बनेका पोखरेलीहरु पछिल्लो सातायता उत्साही देखिएका छन् ।
कारण, पोखरामा चीनबाहिर पहिलोपटक चिनियाँ पर्वको आयोजना । त्यो पनि चीनबाट नै चार्टर्ड विमानमा आएका प्रतियोगीहरु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान ।
अन्तर्राष्ट्रिय बजारमा पोखरालाई यो पर्वले प्रचार गरेको हुँदा पर्यटन लयमा फर्किने विश्वास गर्छन्, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ । पोखराका पर्यटन व्यवसायीको उत्साहत त, पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण गर्दा विमानस्थलमा नै देखिएको थियो ।
यही असार ६ गते बिहान ९ बजेर ६ मिनेट जाँदा चीनको छेङ्दु तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा अवतरण भयो ।
चालकदलसहित ८४ जना बोकेर आएको उक्त विमानमा चीनको लिन्जी नगरका प्रमुख, सिचुवान नगरका उपप्रमुख देखि खेलाडी, सञ्चारकर्मी सहित नेपाली टोलीपनि अवतरण ग¥यो । चिनियाँ टोली दक्षिण एसियामा नै पहिलोपटक चीनबाहिर आयोजित ‘ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुन पोखरा आइपुगेको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको ७ सदस्यिय टोलीले नेपालको प्रतिनिधीत्व गरेको थियो । पहिलो अवतरण भएको टोलीलाई विमानस्थलमा भव्य स्वागत भयो ।
स्वागतमा दुइवटा खुसी देखिए, एउटा पहिलोपटक चार्टर्ड नै भएता पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आयो । दोस्रो, पोखरेली पर्यटनमा अर्को प्रडक्ट थपियो र त्यसको पनि अन्तर्राष्ट्रिय बजारीकरण भयो ।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्छ भन्नेमा व्यवसायीहरु त छन नै, कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रमा अर्को आशाको सञ्चार हुँदा पर्यटन बजार उत्साहित बनेको छ । पोखरामा स्ट्रिट फेस्टिभल सुरु गर्ने तथा पोखराका अग्रणी पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने नियमित उडान हुनसके पर्यटन बजारलाई निकै राहत हुने बताउँछन् ।
“चार्टर्ड फ्लाइट एउटा इभेन्टको लागि आयो । त्यसले मिडिया, सोसल मिडिया र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ड्रागन बोट फेस्टिभल नेपालमा भयो भन्ने सन्देश दियो । तर, कार्गो र चार्टर्ड फ्लाइटले मात्र पर्यटन प्रवद्र्धन हुँदैन । यसका लागि बिजनेश फ्लाइट नै अपरेसनमा आउनुपर्छ,” उनले भने ।
फेस्टिभलले संसारभर नै पोखराको प्रचार भएको बताउँदै उनले दुइवटा विशाल छिमेकी देशबाट नियमित उडान पोखरामा गराउन सक्ने समग्र अर्थतन्त्रलाई नै उकास्नमा मद्धत पुग्ने उनी बताउँछन् ।
तर, चार्टर्ड र कार्गो उडानले मात्रै पर्यटन बजारलाई सहयोग पुग्छ भन्नेमा उनी त्यति सहमत छैनन् ।
“भारतका तीनचारवटा नजिकका र दुई तीनवटा टाढाका सहर र चीनका मेजर सिटीबाट तीन चारवटा उडान हुनुपर्छ । यत्रो लगानीमा विमानस्थल बनेको छ, यसको पेब्याक सेड्युल त हुनुप¥यो,” उनले भने, “जिटुजी डिप्लोमेसी प्रयोग गरेर पहिलो फ्लाइट नै चीन र भारतबाट गराउन सकियो भने अलिकति सुधार हुन्थ्यो । लगानीमात्रै होइन, पर्यटन क्षेत्र नै धराशायी भयो भने यसले अन्य तत्वमा पनि धेरै असर पुु¥याउँछ । यसको रिभाइभको लागि सरकारले निर्मित संरचनाहरुलाई कसरी सदुपयोग गर्ने भन्नेतर्फ लाग्नुपर्ने हो ।”
ड्रागन बोट फेस्टिभलले पोखराको पर्यटनमा नयाँ आयाम थपिएको र आगामी दिनमा प्रतियोगिता हुनुपर्ने सबै देशहरुलाई समेट्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए । हालैमा भएको फेस्टिभल चीनको जस्तो मात्र देखिएको उनको टिप्पणी छ ।
“चिनियाँ दूतावास, पोखरा महानगरपालिका लगायतले आयोजना गरे । त्यतिबेला चीनका दुइवटा सिटीबाट मात्रै सहभागिता रह्यो । अब हरेक वर्षदेखि पोखरामा गर्ने हो भने यो प्रतियोगिता जुनजुन देशमा हुन्छ ती सबै देशलाई बोलाउन सक्नुपर्छ । अनि बल्ल यसले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्न सक्छ । नेपाल पर्यटन बोर्ड, खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालयले सकारात्मक रुपमा लिन सक्नुपर्छ,” उनले भने ।
पोखरा पर्यटन परिषदले पनि उक्त चिनियाँ फेस्टिभल पश्चात चिनियाँ पर्यटकको आगमन बढेको बताएको छ । यद्यपी, पर्यटन क्षेत्रमा अहिलेको समय अफसिजन हो र चिनियाँहरु उक्त पर्वकै लागि मात्र आएका थिए ।
तर, सबैभन्दा बढि पोखराको प्रचार चीनमा भएका कारण सिजन सुरु हुनासाथ चिनियाँ पर्यटकको आगमन बढ्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् ।
पोखराकै पर्यटन सम्बद्ध संस्थाहरुको तथ्यांक हेर्ने हो भने कोभिड अगाडि पोखरामा आउने बाह्य पर्यटकहरुमा चिनियाँहरु नै सबैभन्दा बढि थिए ।
पोखराको चर्चित प्याराग्लाइडिङ गर्ने हरेक दुईमध्ये एकजना चिनियाँ पर्यटक हुन्थे । पदयात्रामा पनि चिनियाँहरु नै अगाडि थिए । तर, कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लय समात्न थालेतापनि चिनियाँ पर्यटकको आगमनमा भने सुधार भएको छ ।
र, पोखरेली पर्यटन क्षेत्रले चिनियाँ पर्यटकहरुको संख्या बढाउनलाई सबैभन्दा महत्वपूर्ण इभेन्ट पोखरामा हुनुमा निकै आशावादी बनेको छ । “संसारभर प्रचारप्रसार भएको छ । विशेषत चीनमा नै पोखराको सबैभन्दा बढि प्रचार भएको छ,” श्रेष्ठ भन्छन, “दक्षिण एसियामा नै पहिलोपटक नेपालमा भएको यो प्रतियोगिताले त एकदमै राम्रो सुरुवात भएको छ ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनाभन्दा बढि भइसकेको छ । तर, हालसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान (चार्टर्ड बाहेक) हुन सकेको छैन । विशेषतः नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रुटको नै समस्या छ ।
छिमेकी देश भारतले एयररुट दिन आनाकानी गरिरहेको अवस्थामा चार्टडै नै सही चीनबाट आएको विमानले यहाँ केही खुसी भने सञ्चार गर्यो । भारत भ्रमणपछि चीन भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा पनि अन्तर्राष्ट्रिय उडानको बारेमा कुरा गर्ने बताएका छन् ।
पोखरामा भएको मुख्यमन्त्रीको अन्तरप्रदेश बैठक तथा राष्ट्रिय समन्वय परिषदको बैठकमा सहभागी हुन आएका प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन तथा पर्यटन व्यवसायीसँग भेटघाट गरेका थिए ।
पत्रकार सम्मेलनमा नै उनले आगामी चीन भ्रमणमा विभिन्न सहरबाट सिधा पोखरासम्म उडान गर्नका लागि प्रयास गर्ने बताए । प्रधानमन्त्री दाहालले नै पोखराका व्यवसायीसँगको भेटघाटमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैँले विशेष पहल गर्ने बताएका थिए ।
“भारत भ्रमणका बेलामा पनि हवाई उडानबारे कुरा भएको हो । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्नेबारे कुरा भइरहेको छ । भारतले एयर रुट दिनुपर्छ भन्नेमा पहिलो पटक गम्भीर भारत भ्रमणमा छलफल भएको हो,’ पत्रकारहरुसँग प्रधानमन्त्री दाहालले भनेका थिए, “अहिले पनि लो अल्टिच्यूडका जहाज आउजाउ गर्न सक्ने भए पनि हाई अल्टिच्यूडका जहाजका लागि अलि तयारी गर्नुपर्छ । हवाई रुट दिनेबारे गम्भीर रुपमा छलफल भएको छ ।”
भारत भ्रमणसँगै उनले अब हुने चीन भ्रमणको प्रसंग पनि ल्याएका थिए । चीनमा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेबारे छलफल गर्ने दाहालले बताए । “चीनका विभिन्न सहरबाट पोखरामा सिधा हवाई उडान हुनेबारे प्राविधिक छलफल गरेका छौँ । चीनका धेरै सहरबाट पोखरासम्म हवाईजहाज आउजाउ गर्नेमा म आशावादी र उत्साही छु, अब चीन जाँदा हवाई उडानबारे गम्भीर छलफल हुनेछ,” उनले भने ।