site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकाले ‘डिपोर्ट’ गरेका ३७ नेपाली काठमाडौं आइपुगे
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’  गरी एकसाथ पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन् । आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन् । अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमा नेपाल पठाएको थियो । 

“अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले बाह्रखरीलाई जानकारी दिए । 

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय (आईसीई)को चार्टर्ड विमानमा उनीहरू काठमाडौं आएको जनाएको छ । 

Argakhachi Cement Island Ad

“अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू उक्त उडानमा रहेका थिए,” अमेरिकी दूतावासले जनाएको छ । 

यति ठूलो संख्यामा नेपालीलाई एकैपटक डिपोर्ट गरी अमेरिकाले पठाएको यो पहिलोपटक हो । 

अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ । आइतबार आइपुगेका ३७ जना समेत जोड्दा अमेरिकाबाट डिपोर्ट भएर आउनेको संख्या १७७ पुगेको छ । 

ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिनेगरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । 

प्रायः अवैधबाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।

अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ । 

ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । 

सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । 

 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्