
काठमाडौं । मिति २०४८ साल असार २५ गते । प्रतिनिधिसभाको बैठक संख्या १८ थियो । अर्थात्, प्रजातन्त्र बहालीपछि प्रतिनिधिसभाको बैठक प्रारम्भिक चरणमा प्रवेश गरेकोमात्रै थियो ।
करिब–करिब सांसदहरू पहिलोपल्ट संसद् प्रवेश गरेका थिए ।
२०१६ सालमा नेपाल संसदीय अभ्यासमा प्रवेश गरेको भए पनि १८ महिनामै राजा महेन्द्रले ‘कू’ गरेपछि प्रजातन्त्र खोसिएको थियो । त्यसको २९ वर्ष तीन महिना २६ दिन मुलुकमा पञ्चायती शासन चल्यो । पञ्चायती शासन व्यवस्थामा पनि विधायकी निकाय राष्ट्रिय पञ्चायत थियो ।
पञ्चायती शासन व्यवस्थामा पनि मन्त्रीको आलोचना यदाकदा हुन्थ्यो । तर, विधायिकी थलो अवरोध गर्ने हिम्मत राष्ट्रिय पञ्चायत सदस्यसँग हुँदैनथ्यो ।
२०१६ सालमा प्रतिनिधित्व गर्ने सांसद २०४८ सालमा कांग्रेसका जगन्नाथ आचार्य, महेन्द्रनारायण निधि, बलबहादुर राईले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्थे भने राष्ट्रिय सभामा बेनीबहादुर कार्की पुगे ।
उनीहरूलाई मात्रै संसदीय अभ्यासको १८ महिने अनुभव थियो, त्यो पनि झन्डै ३० वर्षअघिको । त्यसबाहेकका सांसद राजनीतिक जोश जाँगरका भए पनि अनुभवी थिएनन् । केही सदस्य दलविहीन राष्ट्रिय पञ्चायतबाट दोहोरिएका थिए ।
त्यस दिन सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सक्ने योजना थियो संसद्को । त्यसैले बैठक पनि बिहानै बोलाइएको थियो । नयाँ जोस जाँगरसहित प्रतिनिधित्व गरेका थिए सांसदहरूले ।
बिहान ८ः५० मा बैठक प्रारम्भ भयो । सभामुख दमननाथ ढुंगानाले ‘माननीय सदस्यहरू, बैठकको कार्यबाही सुरु हुन्छ’ के भन्न भ्याएका थिए राप्रपाका सांसद पशुपति शमशेर जबरा माइक समाउँदै उठिहाले । संसद् सचिवालयको रेकर्डअनुसार राणाले अघिल्लो दिनमा आफूले संसद्मा राखेका धारणा नेपाल टीभीले गलत तरिकाले उद्धृत गरेको भन्दै नियमापत्ति जनाए ।
“मलाई राप्रपा (थापा)को सदस्य भनेर भन्यो । यो अति आपत्तिजनक कुरा हो, म घोर आपत्ति जनाउँछु ।अब नियमअनुसार गर्नैपर्ने भएको भए मैले सदनै छोड्नुपर्ने अवस्था आउँथ्यो,” राणाको भनाइ थियो ।
राणाले नेपाल टीभीमा एकलौटीकरण भएको, कांग्रेसीकरण भएकोमात्रै आरोप लगाएनन् सत्तारुढ दलका एक जना सांसदले आफूलाई राणा परिवारको भनेर आक्षेप लगाएको पनि नियमापत्तिमा समेटे । त्यसपछि नेकपा एमालेका सांसद वामदेव गौतमले पनि नियमापत्तिको कुरा गरे ।
गौतमले देशमा शान्ति सुरक्षाको वातावरण नभएको भन्दै सरकारको आलोचना गर्न थाले ।
उनले बोल्ने क्रममा भने, “अस्ति अर्घाखाँचीको....”
सभामुखले रोक्दै भने– माननीय गृहमन्त्रीबाट आउँदैछ त्यो ।
गौतम रोकिएनन् ।
“अर्घाखाँचीको पाली बाँसरुख भन्ने ठाउँमा पुलिसहरूद्वारा जघन्य हत्या भएको छ, निर्दोष जनतामाथि गोली चार्ज गरिएको छ । उनीहरूलाई सुरक्षा प्रदान गरिएन । उनीहरूको उपचार गर्न दिइएन र अहिले जनता त्यहाँ आतंकित भएका छन् । त्यस्तो भएको हुनाले यस सम्बन्धमा सार्वजनिक महत्वको जानकारी तुरुन्त दिइयोस् । यो सभालाई जानकारी गराइयोस् भन्ने कुरा अनुरोध गर्दछु,” गौतमको भनाइ थियो ।
सभामुखले त्यस विषयमा गृहमन्त्रीले बोल्ने कार्यक्रम तय भइसकेको जानकारी गराए ।
त्यसबेला गृहमन्त्री थिए, शेरबहादुर देउपा (पछि देउवामा परिणत) । हाल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री । एमालेका सांसद हिरण्यलाल श्रेष्ठ, जागृतप्रसाद भेटवालले पनि नियमापत्ति जनाउँदै अर्घाखाँचीमा प्रहरीले हानेको गोली सम्बन्धमा प्रश्न उठाए ।
सोही दिनको बैठकमा कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि नियमापत्ति जनाए ।
तर उनले नियमापत्तिकै यसरी व्यङ्ग्य गरे कि ! “यो नियमापत्ति सदनको दर्दशान्ति तेल हो कि होइन ? त्यो एउटा रुलिङ चाहियो । पेट दुखेको, नाक दुखेको, घाँटी दुखेको, सम्पूर्ण कुरा दुखेको दर्द शान्ति तेलजस्तै हो यो नियमापत्ति ? हरेक कुरा उठाउन सक्ने यो सदनमा म आउँदा आउँदै चिया समयमा मेरो श्रीमतीले नखान दिएको हुनाले ढिलो भयो्, यो नियमापत्ति हुन्छ कि हुँदैन ? तत्काल घटेको घटनालाई सदनमा अभिव्यक्त गर्नको निम्ति शुन्य समयको व्यवस्था गरियोस् । तर नियमापत्तिलाई दर्दशान्ति तेल नबनाइयोस्,” संसद् सचिवालयले राखेको रेकर्डमा केसीको भनाइ उल्लेख छ ।
एमालेका सांसद राजेन्द्र पाण्डेले पनि अर्घाखाँची घटनालाई जोडका साथ उठाए । राधाकृष्ण मैनाली बोलिसकेपछि सभामुखले ‘अघोषित शुन्य समय’ सकिएको घोषणा गरे । एमाले सांसदहरूले हात उठाउँदै होहल्ला गर्न थाले । सभामुखले गृहमन्त्रीलाई बोल्न समय उपलब्ध गराए ।
देउवाले अर्घाखाँचीमा भएको घटनाबारे यसरी बेलिविस्तार लगाए ।
माननीय सभामुख महोदय,
प्रहरीद्वारा सञ्चालित विशेष कार्यक्रमको सिलसिलामा शान्ति सुुरक्षाको व्यवस्था मिलाउने क्रममा यही असार २२ गते अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट खटिएका प्रहरी नावय निरीक्षक र चारजना प्रहरी समेतको टोली बल्कोट, पाली, खिदिम र पोखराथोक हुँदै असार २३ गते ढाँड मैदान गाउँ विकास समितिमा पुगेपछि प्रहरी टोलीले स्थानीय एउटा पसलेलाई विना इजाजत मादक पदार्थ बेचबिखन गर्न नमिल्ने कुरा भनेपछि प्रहरी र स्थानीय केही व्यक्तिहरूका बीच भनाभन भएको थियो ।
सो दिन नजिकको गाएँमा गस्तीगर्ने कार्य सकिएपछि राति प्रहरीहरू ढाँड मैदान गाउँ विकास समिति वडा नम्बर १ स्थित दुर्गाडिलमा आइ बास बसेछन् । त्यस ठाउँका नजिकैमा पर्ने पाली गाउँ विकास समितिका केही व्यक्तिहरूको समूह एक्कासि प्रहरी बास बसेको ठाउँमा आइ मादक पदार्थ बिक्री वितरण गर्न रोक लगाएको कुरालाई लिएर हो हल्ला गरी चौकीमा पालो बसेका प्रहरीको हात हतियार समेत खोस्न लाग्दा प्रहरी नायव निरीक्षक त्यहाँ आई सम्झाउँदा बुझाउँदा पनि नमानी जबर्जस्ती गर्न थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरी नायब निरीक्षकले आफ्नो रिभल्भरबाट पाँच राउन्ड हवाई फायर गरेको र त्यसबाट ती व्यक्तिहरू झन् उत्तेजित भइ ढुंगा मुढा गरी प्रहरीमाथि जाइलाग्दा प्रहरीले आफ्नो आत्मरक्षाको लागि बाध्य भइ राइफलबाट छ राउन्ड गोली चलाएको कुरा जानकारी दिन चाहन्छु ।
यस घटनाक्रममा भुल्लु भन्ने वासिर मिया अलि महमद मिया, सफर मिया र रहिक मियाँलाई गोली लागी घाइते भएको हुँदा उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगेकोमा भल्लु भन्ने वसीर मियाको बीच बाटोमा नै मृत्यु भएको र अन्य तीनजना घाइतेहरूको उक्त अस्पतालमा उपचार भइरहेको कुरा थाहा हुन आएको छ । गोली लागी सख्त घाइते भएका अर्का एकलाई सदरमुकाम सन्धीखर्कमा ल्याई त्यहाँको जिल्ला अस्पतालमा भर्ना गरी उपचार गराईराखिएको र सफर मियाँ र जली अहमद मियाँको अवस्था चिन्ताजनक भएकाले उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर पठाउने व्यवस्था मिलाइएको छ । सामान्य रुपमा घाइते भएका अहमद मिया, खसरु मियासमेत पाँच जना व्यक्तिहरूलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । असार २५ गते जिल्ला सदरमुकामबाट आवश्यक व्यवस्था मिलाई घटना सम्बन्धमा वास्तविक कुरा बुझ्ने कार्य भइरहेको व्यहोरा समेत सदनलाई जानकारी दिन चाहन्छु ।
तर एमाले सांसदहरू गृहमन्त्रीसँग थप स्पष्टीकरण लिन चाहन्थे ।
सभामुखले नियमावलीमा व्यवस्था नभएको भन्दै रोके ।
सांसदहरूलाई नियम हेरिदिन आग्रह गरे ।
गौतमले नियमावलीप्रति नै आपत्ति जनाउँदै भने– नियमहरू यहाँ सर्वमान्य भइरहेका छैनन् । र, हामीले बार–बार कुरो उठाइरहेका छौँ । त्यो नियमावलीलाई परिवर्तन गर्नुपर्छ र तुरुन्त गरियोस् ।”
सभामुखले भने– नगरुन्जेल यही पालना गर्नुपर्छ ।
गौतम रोकिएनन् । कांग्रेसले सरकारको नेतृत्व गरेपछि देशमा अशान्ति बढेको, मन्त्रीहरूले बेला बेलामा मन्तव्य दिँदा ज्यादै नियत खराब राख्ने गरेको, कुनै पनि घटनालाई बङ्ग्याएर, टिङ्ग्याएर झुटो प्रस्तुत गरेको आरोप लगाए ।
गौतमले अर्घाखाँचीमा आफ्नो दोकानमा बसेका नागरिकमाथि प्रहरीले निर्मम तरिकाले गोली चलाएर हत्या गरेको हुँदा गृहमन्त्रीको यति वक्तव्यले मात्रै मान्न नसकिने तर्क राखेका थिए ।
जब गौतमलाई सभामुखले रोके, अनि एमालेका सांसदहरू जर्याक जुरुक उठे । होहल्ला गर्न थाले ।
सभामुखले भने– अब यहाँ प्रतिपक्षलाई सरकारले भनेको कुरामा सत्यता छैन झुठ छ भने त्यो आफ्नो कुरा समयमा अनुमति लिएर राखिदिने हो । तर नियतमा गयो भने यो वादविवादमात्रै हुन्छ, सदनलाई वादविवादको थलो नबनाऔँ । अर्को कुरा सत्तापक्षले पनि प्रतिपक्षबाट केही कुरा आउनेबित्तिकै त्यसरी सबै एकैचोटी जर्याकजुरुक उठिदिनुभएन, सुन्नुपर्छ । वास्तवमा भन्ने हो भने संसदीय पद्धति के हो भने जसले बहुमत ल्याउँछ त्योसँग सरकार हुन्छ । जोसँग अल्पमत हुन्छ, त्यो अपोजिसनसँग पार्लियामेन्ट हुन्छ । पार्लियामेन्टमा बढी भूमिका प्रतिपक्षको हुन्छ । यो कुरा यहाँहरूले बुझिदिनुपर्छ ।”
सभामुख बोल्दै जाँदा पनि केही सांसद उठेको उठ्यै गरे । सांसदहरूले होहल्ला जारी राखे ।
अनि सभामुखले प्रस्ताव गरे, “...अब म समय तोक्न चाहन्छु । उता दुईजना, यता ठिक छ सत्तापक्षबाट तीन जना गर्नुस् । यता एमालेको तर्फबाट दुईजना, संयुक्त जनमोर्चाबाट एक जना, माननीय प्रकाशचन्द्र लोहनी, भीमबहादुजी सिंगै पार्टी हुनुहुन्छ....।”
कांग्रेसले तीन सांसद तोक्यो एमालेका तर्फबाट केपी शर्मा ओलीले आफ्ना धारणा राखे ।
ओलीले चर्कोस्वरमा गृहमन्त्री रहेका देउवाको आलोचना गरे ।
“गृहमन्त्रीले कस्तो आदेश दिनुभएको थियो, त्यहाँ त्यत्रो विघ्न मान्छे घाइते हुने र ज्यानै जाने खालको स्थिति आयो ?,” उनको प्रश्न थियो ।
ओलीले प्रहरीले नै मादक पदार्थ सेवन गरेर गएको दाबी गर्दै भने, “पहिले त्यहाँ कुलबहादुर घर्तीको घरमा पसेर त्यो प्रहरीहरूले मादक द्रव्यको आफैँ सेवन गरेर गएका थिए र उत्तेजित घटनाको सिर्जना गरेका थिए । त्यसकारण साधारण वादविवाद भइरहेको बेलामा सव–इन्स्पेक्टर तेजबहादुर घिमिरेले आफ्नो रिभल्भरबाट बिनाआवश्यक गोली चलाएर वसिर मियाँको पेटमा गोली चलाएर घाइते बनाएका थिए ।त्यसपछि सफर मियालाई राइफल चलाएर अन्धाधुन्द ढंगले सफर मियाको छातीमा नै गोली लागेर फोक्सो ड्यामेज भएको छ ।सफर मियाको जाङ वरिपरि छ, सात गाउँमा गोली लागेको छ । मोहम्मद मियाको नलीहाडमा गोली लागेर धुजाधुजा भएको छ ।”
प्रतिपक्षमा रहेका ओलीले यसरी घटनाको बेलिविस्तार लगाए ।
अन्तमा उनले भने, “न्यायिक छानबिन हुनुपर्यो र टालटुले हुनुभएन । शान्ति सु–व्यवस्था कायम हुनुपर्यो भन्ने अनुरोध गर्दछु । कम्युनिष्ट मास्छौँ मास्छौँ भन्ने खालका नाराहरू पनि त्यहाँ लगाएर राजनीतिक रंग दिएर आफू रक्षित हुन खोजेका छन् । यो कुराको पनि छानबिन होस् भन्ने अनुरोध गर्दछु ।”
सबैले आ–आफ्ना कुरा राखे ।
सभामुखले लन्चको समयलगत्तै गृहमन्त्रीले जवाफ दिने बताएपछि एमाले सांसदहरूले फेरि आपत्ति जनाए ।
एमालेका सांसद भरतमोहन अधिकारीले भने, “घाइतेले गृहमन्त्रीको छ घण्टा पर्खिने अवस्था छैन । कमसेकम तुरुन्त म उहाँहरूलाई औषधि उपचार पुर्याउँछु भन्ने कुरा बचन पनि दिन सक्नुहुन्न गृहमन्त्री त्यस अवस्थामा । हामी एमाले पार्र्टीको जिम्मेवारी छ, आज पुलिसको अन्याय अत्याचारबाट गोली खाएर घाइते भएका मानिस मरिरहेको बेलामा हामी सदनमा बस्न सक्दैनौँ । हामी जान्छौँ ।”
अनि सभामुखले पनि त्यो प्रतिपक्षको अधिकार भएको बताए ।
प्रतिपक्षले तत्कालै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्यो सत्तापक्षले पनि बाध्यतामा पारेर तत्काल जवाफ दिलाउन नहुने अडान राख्न थाल्यो ।
प्रतिपक्षका सांसदहरूले होहल्ला गर्न थालेपछि सभामुखले भने, “माननीय सदस्यहरू अब यो बहिस्कार गर्नुपर्ने नपर्ने विषयलाई यहाँहरू पनि सोच्नोस् । म यो सदन बहिस्कारको प्रश्न उठेको र सत्तापक्षबाट पनि यसलाई बाध्यतामा जवाफ दिनुपर्यो भन्ने भइरहेको छ । त्यसकारण म सत्ता पक्षलाई पनि बाध्यतामा जवाफ दिन लाउन चाहन्न । यो वाध्यता नसम्झीदिउँ गृहमन्त्रीजीले यसमा केही बोल्न चाहनुहुन्छ भने उहाँको खुसी हो अन्यथा गृहमन्त्रीले अनुमति पनि दिइराख्नु भएको छैन । म सरसल्लाहको लागि यो सदन दश मिनेटका लागि एडजर्न गर्दछु ।”
त्यसपछिबैठक १० मिनेट स्थगित भयो .... ।
नेपालको संसदीय इतिहासमा २०१५ सालको निर्वाचनअघि राजा त्रिभुवनले गठन गरेको सल्लाहकार सभासमेत अवरुद्ध भएको बताइन्छ ।
२०११ सालमा सरकारी कामकाजको भाषा नेपालीलाई मान्यता दिएपछि अवरोध खडा भएको थियो ।
२०१६ सालको संसद्मा पनि तत्कालीन निर्माण, सञ्चार तथा नहर मन्त्री गणेशमान सिंहले राणाप्रति लक्षित गर्दै ‘कालो शासन’ भनेपछि गोर्खा परिषदले आपत्ति जनाएको थियो । गोर्खा परिषदले त्यसबेला आधा घण्टा बैठक बहिस्कार गरेको थियो ।
तर आक्कलझुक्कल अवरोध हुन्थ्यो ।
२०४८ असार २५ गते बहुदलकालपछि पहिलोपल्ट संसद् अवरोध भयो । १० मिनेट स्थगित भयो । १० मिनेट स्थगित भएपछि गृहमन्त्री देउवा पनि पुनः जवाफ दिन तयार भए । तर दोस्रो बैठकको सुरुमै नियमित सरकारको नीति तथा कार्यक्रममाथि छलफल भयो । उक्त छलफलमा एमालेका मदनकुमार भण्डारी, कांग्रेसका सुशील कोइरालालगायतका नेताले सम्बोधन गरे । नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि गृहमन्त्री देउवाले पुनः जवाफ दिए ।
त्यसको भोलिपल्ट पनि प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु आफूले दर्ता गराएका ध्यानाकर्षण र जरुरी सार्वजनिक महत्वको प्रस्ताव बैठकमा नल्याइएको विषयमा विरोध जनाउँदै सभामुखको डायस अगाडिको खाली ठाउँमा पुगेर विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो ।
त्यसै अधिवेशनमा साउन २६ गते नेपाल निजामती कर्मचारी संगठनको आन्दोलनबारे सामान्य प्रशासन मन्त्रीको गोरखापत्रमा प्रकाशित भनाइका सम्बन्धमा उनले सदनसमक्ष स्पष्टीकरण दिनुपर्ने माग गर्दै एमालेका सांसदहरु त्यसैगरी सभामुखको डायसअघि खाली ठाउँमा गएर विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।
तर दोस्रो अधिवेशनका क्रममा सोही वर्ष फागुन ११ गते टनकपुर व्यारेक सम्बन्धी स्थलगत प्रस्ताव छलफलमा नल्याइएको भन्दै एमालेका सांसदहरु भरतमोहन अधिकारीसहित सांसदहरुले रोष्ट्रम कब्जा गरेका थिए । एमाले, संयुक्त जनमोर्चालगायतका सांसदहरुले सात घण्टा ३० मिनेट नारा लगाएका थिए ।
अनि देउवाले जवाफ दिए, ...गोलीको आँखा हुँदैन
देउवाले उक्त सम्बोधनमा कुनै पनि सांसदले प्रश्न उठाउनासाथ मन्त्री रोष्ट्रममा जाँदै जवाफ दिने परिपाटी पूर्णरुपमा गलत भएको टिप्पणी गरे ।
उनले ८०–९० जना सांसदले प्रत्येक दिन कोटको खल्तीबाट प्रश्न निकाल्नासाथ मन्त्री रोष्ट्रममा गएर जवाफ दिन नसक्ने घुमाउरो तरिकाले जवाफ दिए ।
देउवाले पुनः अर्घाखाँची घटनाको जवाफ दिँदै अन्तिममा भने, “त्यो एउटा गोली किन मान्छेलाई लाग्यो भन्ने कुरामा राखी साढे १२ बजे राति सुतेको बेलामा सेन्ट्रीको बन्दुक खोस्ने कुरा हुँदाखेरि अँध्यारोमा गोली चल्दाखेरि,ताक्दाखेरि, घुँडामा ताक्दाखेरि पनि देखिँदैन । गोली लाग्न सक्छ । त्यसो भएको हुनाले अर्जुनजस्तो अनि त्यस्तो शिक्षा लिएको आँखाको आँखैमा ताकेर हान्ने एउटा आँखैमा गोली लाग्ने किसिमको ट्रेनिङ हामीले हाम्रा पुलिसलाई दिन सक्या छैनौँ । कि त्यसले अँध्यारोमा पनि घुँडा ताक्दा घुँडा नै देख्छ । त्यस्तो किसिमको आँखा बनेको छ कि छैन । त्यो मलाई थाहा छैन ।”