site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमा ओलीको ‘एकल शो’, पदाधिकारी पनि बोल्न सक्दैनन्

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘निजी कम्पनी’ जस्तो बनाएको भन्दै तीव्र असन्तुष्टि बढेको छ । तर असन्तुष्टि भित्रभित्रै बढे पनि सार्वजनिक गर्न नेताहरु तयार देखिँदैनन् । धेरैजसो पदाधिकारी अध्यक्ष ओलीको ‘एकल शो’ पार्टीमा चलेको भन्दै असन्तुष्ट छन् । 

अनौपचारिक कुराकानीमा प्रशस्तै खुलेर ओलीको आलोचना गरे पनि औपचारिकरुपमा भने अहिले विरोध गर्ने अवस्था नभएको उनीहरुको टिप्पणी छ ।

“हामी त सानो मान्छे । मुख छुच्चो गरेर बोले कारवाहीको धम्की पाउनेमात्र हौँ । ठिक भनिस् भनेर फोन गर्नेले पनि ठिक कुरा हो भनेर पार्टी कमिटीमा राख्न सक्दैन,” एक पोलिट्ब्यूरो सदस्यले बाह्रखरीसँग भने, “स्थायी कमिटी, सचिवालय कतै पनि अध्यक्षलाई यो बाटो गलत हो, यो शैली गलत हो भन्ने पदाधिकारी देखिएनन् । त्यसैले अध्यक्षको ‘वान मेन शो’ चलिरहेको छ ।” 

Dabur Nepal
NIC Asia

ती नेताका अनुसार दशौं महाधिवेशन पछि एमालेमा एउटामात्र पोलिट्ब्यूरो बैठक बसेको छ । 

एमाले विधानअनुसार पोलिट्ब्यूरो बैठकको काम स्थायी कमिटीका निर्णय अनुमोदन गर्ने र केन्द्रीय कमिटीलाई एजेन्डा दिने थियो । अहिलेसम्म पाँचवटा केन्द्रीय कमिटी बैठक बस्दा पोलिट्ब्यूरो बैठक भने एकपटकमात्रै बसेको छ ।

“महाधिवेशनपछि एउटा पोलिट्ब्यूरो बैठक बसेको छ । त्यो बैठकमा अध्यक्ष ओलीले दुई घण्टा भाषण गर्नुभयो । अरु सदस्यले संसद्को शून्यसमय जस्तै एक मिनेट समय पाए,” ती नेताले भने, “बोल्न मन लाग्ने बोले, धेरैजना अध्यक्षको चाकडी बजाउनेमात्र देखिए ।” 

वडा जिताउन पनि नसक्ने व्यक्तिलाई अध्यक्षले बढी महत्त्व दिँदा तल्लो तहमा काम गर्नेहरुमा बढी आक्रोश भरिएको ती नेताको टिप्पणी छ ।

ती पोलिट्ब्यूरो सदस्यमात्रै होइनन् पदाधिकारी पनि ओलीको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । तर उनीहरु पनि खुलेर बोल्न सक्दैनन् । उनीहरु अध्यक्ष ओलीलाई सुझाव दिने, सम्झाउने वा सामूहिक नेतृत्वको प्रश्न उठाउने अवस्थामा छैनन् । 

“हामीले भनेको कुरा सुन्नुहुन्छ जवाफ दिनुहुन्न । संसद् विघटन गर्दा नगरौँ भन्यौँ, उहाँले आफूले निर्णय लिनुभयो । जानेको सबै विषय बोल्ने होइन, आवश्यक विषयमात्र बोलौँ भन्छौँ, उहाँलाई लागेको गर्नुहुन्छ,” एक पदाधिकारीले भने, “पार्टीमा जिम्मेवारी दिने कुरा संसदमै देख्नुभएकै छ । संसदीय दलका नेताले प्रयोग गर्ने अधिकार उहाँले प्रयोग गर्दा प्रश्न कसले उठाउने किन उठाउने ?” 

पदाधिकारीहरु पनि ओलीले सामूहिक छलफल र छलफलको निस्कर्ष निकालेर काम गर्ने अभ्यास छोडिसकेको बताउँछन् ।  एमालेका अर्का पदाधिकारी त पहिलो पटक प्रधानमन्त्री हुँदा हाई–हाई भएका ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा कसैका कुरा नसुन्ने भइसकेका थिए । 

उनीहरुले कार्यशैलीमा सुधार गर्नका लागि पटक–पटक दिएका सुझाव ओलीले सुनेको नसुन्यै गरिदिए । पार्टीलाई कमिटी प्रणालीमा संचालन गरौँ भनेर दशौँ महाधिवेशनपछि पनि नेताहरुले भनेकै छन् ।  एक पदाधिकारीका अनुसार पार्टीका कुन तहका नेताले आफूप्रति कस्तो भनाइ राखेका छन् भन्ने ओलीले निकै नजिकबाट अध्ययन गरेका हुन्छन् ।

“अध्यक्षको विरोध गर्ने नजिक पर्न सक्दैनन्, किनारा लगाउने प्रयास त्यहीबेलादेखि सुरु हुन्छ,” ती नेताले भने ।

कतिसम्म भने ओलीकै अग्रसरतामा राखिएको विधानको ७० वर्षे उमेर हद एमाले फूटाएर नेकपा एकीकृत समाजवादी बनाएका मुकुन्द न्यौपाने फर्काउने बहानामा निलम्बन गरियो । 

ओलीको विचारसँग सहमत नहुने नेताहरुले पनि आफूलाई अनुकूल हुने निर्णयलाई समर्थन जनाए । 

धेरैले उमेरहद निलम्बन हो, संशोधन होइन भनेर त्यसका विषयमा फरक मत छ भन्ने संकेत गरेका छन् । तर, कसैले पनि विधानमा रहेको ७० वर्षे उमेर हद कायम रहन्छ भन्न सकेका छैनन् । 

“उमेर हदको कुरा महाधिवेशनले राखेको हो । त्यसलाई महाधिवेशनले सच्याउन पनि सक्छ,” एक नेताले बाह्रखरीसँग भने, “तर, ओलीले नै राखेको उमेरहद उनकै लागि सच्याउँदा त्यसको जवाफ अहिलेको कमिटीभित्र त कसैले पनि माग्नेवाला छैन । तर महाधिवेशनमा त उनले दिनुपर्छ भन्ने लाग्छ ।”

एमालेको बुटवल महाधिवेशनमा ओली अध्यक्षका प्रत्यासी थिए । उनले त्यहाँ सामूहिक नेतृत्वबाट पार्टी सञ्चालन गर्ने राजनीतिक प्रस्ताव नै पेश गरेका थिए ।  अध्यक्षमात्र होइन हरेक पदाधिकारीको भूमिका हुन्छ, हरेकका जिम्मेवारीले पार्टीलाई सशक्त र चलायमान बनाउँछ भन्ने दृढ संकल्पसहितको प्रस्ताव राखेका थिए । 

अध्यक्षको प्रत्यासी रहेका उनी माधव नेपाल र वामदेव गौतमसहितका नेता झलनाथ खनाललाई जिताउन लागेपछि अध्यक्षमा पराजित भए । 

“अहिले वहाल रहेका महासचिव, वरिष्ठसहितका उपाध्यक्षहरु कोही पनि ओलीसँग कमिटी प्रणालीको बहस गर्न तयार हुनुहुन्न,” ती नेताले भने, “केन्द्रीय कमिटी हुन्छ उहाँकै भाषण दुईघण्टा सुन्ने हो । पार्टीका हरेक बैठकमा उहाँ कसैको कुरा सुन्न तयार देखिनुहुन्न । उहाँको कुरा सुन्नैपर्छ । कतिसम्म भने कार्यलयमा आएर आ–आफ्ना कोठामा बसेका पदाधिकारीहरुलाई समेत उहाँ भर्चुअल सम्बोधन गरिदिनुहुन्छ ।” 

ओलीको नजिक रहेका अर्का एक नेताका अनुसार दोस्रोपटक अध्यक्ष बनेपछि ओलीमा अझ बढी दम्भ देखियो ।

“पार्टी फुटेर पुनः अध्यक्ष भएपछि उहाँको शैली अधिनायक नै भएको छ । संसारमा उहाँले आफूजति पढेको, बुझेको र जानेको व्यक्ति अर्को छैन भन्ने देखाइरहँदा त्यसको क्षति पार्टीले बेहोर्नुपरेको छ,” ती नेताले भने, “कोही पनि उहाँलाई गलत भयो भनेर सच्याउने भूमिकामा उभिँदैन । त्यस्ता पदाधिकरीलाई नेतृत्व तहका व्यक्ति भनेर कसरी भन्ने, नभने कसलाई भन्ने ? यस्तो समस्या छ ।” 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro