काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ ।
राप्रपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा अध्यक्ष अग्रवालले सबै राजनीतिक दलले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राख्नुपर्नेमा जोड दिए ।
निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्ने उनले बताए ।
भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
सो अवसरमा पूर्वऊर्जामन्त्री समेत रहेका लिङदेनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताए । उनले जलविद्युत् आयोजनाको पीपीए रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे ।
सबै जलविद्युत् आयोजनाको पीपीए खुला गरिनुपर्नेमा उनले जोड दिए । पीपीए खुला गर्न सहयोग गर्ने प्रतिबद्धता समेत लिङदेनले जनाए ।