जनकपुरधाम । मधेस प्रदेशमा सिँचाइ अभावले धान रोपाइँमा ढिलाइ भएको छ । असार दोस्रो सातासम्म कुल धान खेती हुने जमिनमध्ये पाँच प्रतिशतमात्रै किसानले धान रोपाइँ गरेका छन् ।
दिगो सिँचाइको व्यवस्था नहुदाँ ७२ प्रतिशत धान खेती आकाशे पानीकै भरमा हुन्छ । तर, समयमा प¥र्याप्त पानी नपर्दा ९५ प्रतिशत किसानले धान रोपाइँ गर्न पाएका छैनन् ।
बीउ तयार भएपनि पानी अभावमा खेत तयार र रोपाइँ गर्न नसकेको जनकपुरधाम उपमहानगरपालिका–१७ का किसान रामविलास साहले बताए । प्रत्येक वर्ष आकाशे पानीको भरमा धान रोपाइँ गर्ने उनले पानी अभावले रोपाइँमा ढिलाइ भएको उनको गुनासो छ ।
“समयमा पानी परेको भए सबै खेतमा धान रोपिसकेको हुन्थे,” उनले भने, “पानीको सुविधा छैन । बोरिङको लागि कृषि कार्यालयमा आवेदन दिए तर दिएनन् ।”
अर्का किसान लक्ष्मण यादवले पनि सोही कुरा दोहोर्याए । “उपल्लो जमिनहरूमा पनि केही रोपाइँ भएको छ । तर त्यस्तो जमिनमा किसानको लगानी धेरै र उत्पादन कम हुन्छ,” उनले भने, “त्यसकारण किसानले अहिले समथर र गहिरो जमिनमा रोपाइँ गरिरहेका छन् । सरकारले दीर्घकालीन सिँचाइको व्यवस्था गरिदिए राम्रो हुन्छ । नभए भगवान भरोसा त छँदै छ ।”
लक्ष्मीनियाँ गाउँपालिका–४ का रामजीवन शर्माले १६ कठ्ठा जमिनमा मोटरबाट पानी तानेर रोपाइँ गरे । बाँकी जमिनको लागि उनी पनि अकाशे पानीकै पर्खाइमा छन् । “निजी बोरिङबाट मोटर लगाएर १६ कठ्ठा खेत रोपे । तर, बाँकी जमिनमा न निजी सिँचाइ छ न सरकारी” उनले भने, “त्यसकारण वर्षाकै पानी पर्खिरहेका छौँ । मेरो आधाभन्दा बढी जमिनमा वर्षाकै पानीले खेती हुन्छ ।”
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले धनुषामा कुल एक लाख १९ हजार हेक्टर खेती योग्य जमिन रहेको बताए । उनका अनुसार कुल खेती योग्य जमिनमध्ये ७१ हजार हेक्टर समथर र पाँच हजार पाखो गरी ७६ हजार हेक्टर छ ।
यीमध्ये ६५ हजार ६०० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । ३५ हजार हेक्टरमा सिँचाइ छ । बाँकी जमिनमा सिँचाइ अभाव छ । “सिँचाइको व्यवस्था नहुँदा १५ हजारदेखि २० हजार हेक्टर जमिन प्रत्येक वर्ष बाँझो रहने गर्छ,” उनले भने ।
राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाँका प्रमुख डा. रामवरण यादवले हालसम्म मधेस प्रदेशमा मात्र पाँच प्रतिशत जमिनमा धान रोपाइँ भएको बताए । उनका अनुसार ९५ प्रतिशत जमिनमा सिँचाइ र किसानको तयारी अभावले रोपाइँ हुन सकेको छैन । प्रत्येक वर्ष मधेसको रोपाइँमा ढिलाई हुँदै गएको उनको कथन छ ।
मधेसमा चार लाख हेक्टर जमिनमा धान खेती हुने भए पनि २८ प्रतिशत जमिनमा मात्रै सिँचाइको व्यवस्था रहेको उनले बताए । तर, कृषि विकास निर्देशनालयका सूचना अधिकृत रामकलेश साहले मधेसमा आठ प्रतिशत रोपाइँ भएको बताए । उनले करिव ५० प्रतिशत जमिनमा सिँचाइ पनि रहेको दाबी गरे ।
रोपाइँ नहुँदै मलको चिन्ता
लक्ष्मीनियाँ–३, गजरियाका रामह्दय साहले १८ कठ्ठा जग्गामा रोपाइँ गरे । बाँकी १२ कठ्ठामा रोपाइँका लागि तयारी गरिरहेका छन् । तर उनलाई अहिले एउटै चिन्ता छ, खेत त जसोतसो रोपिएला, मलचाहीँ कहाँबाट ल्याउने ?
रोपाइँकै तयारीस्वरूप जेठ अन्तिम साता रासायनिक मलका लागि वडा कार्यालयमा पुगे । वडाध्यक्षले उनलाई स्थानीय सहकारी संस्थाबाट मल लिन दिने आश्वासन दिए । तर, उनले मल पाएका छैनन् । उनी पुनः गत बुधबार वडा कार्यालयमा मलबारे बुझन् गए तर, रित्तै फर्किए । कर्मचारीहरूले मल नआएको उनलाई बतायो ।
सँधै भारतीय बजारबाट मल आयात
नेपालमा सहज रूपमा मल नपाएपछि प्रत्येक वर्ष भारतीय बजारबाट ल्याउने गरेका छन् । यसवर्ष पनि भारतबाट ल्याउने तयारी थालेका छन् ।
“केही दिन अझै कुछौँ, पाइएन भने भारतीय बजारमै जानुपर्ला,” अरविन्द यादवले भने, “मल नपाए लगानी खेर जान्छ । मलका लागि प्रत्येक वर्ष तड्पिनुपर्छ ।”