काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेका छन् । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हो ।
अग्रवालले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधि राख्न पनि आग्रह गरे । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने बताए । निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरणका बनाउन पनि उनले आग्रह गरे ।
बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेको पनि उनले बताए ।
अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्विजिसनमा भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे । हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानीसम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रूपमा नीतिगत तथा व्यवहारिक सुझावहरू प्राप्त भइरहेको भन्दै त्यसलाई आफूले सकारात्मक रूपमा लिएको बताए । मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको पनि उनले बताए ।