
काठमाडौं । रोमाका मुख्य प्रशिक्षक जोजे माउरिन्हो नयाँ सिजन सन् २०२३–२४ मा १० दिनका लागि निलम्बनमा परेका छन् । माउरिन्होले रेफ्री ड्यानियल चिफीमाथि दिएको अभिव्यक्तिका कारण उनलाई कारबाहीस्वरुप निलम्बन गरिएको हो ।
गत मे ३ मा रोमाले मोन्जाविरुद्ध खेल्दा माउरिन्होले चिफीलाई ‘मेरो जीवनमा भेटेको अहिलेसम्मकै खराब रेफ्री’ भनी प्रतिकृया दिएका थिए । यसैकारण माउरिन्होलाई ४३ हजार पाउन्डको जरिवानासमेत लगाइएको छ ।
“माउरिन्होले आगामी सिजनको पहिलो दिनदेखि सुरु हुने १० दिने निलम्बनको सामना गर्नेछन्,” इटालियन फुटबल एसोसियसनले भनेको छ ।
चेल्सी, रियाल मड्रिड, इन्टर मिलान र म्यानचेस्टर युनाइटेडका पूर्व मुख्य प्रशिक्षक माउरिन्होले मोन्जाविरुद्ध चिफीले रोमाका मेह्मेट जेकी सेलिकलाई खेलको इन्जुरी समयमा रातो कार्ड देखाएपछि रेफ्रीको आलोचना गरेका थिए । यू पाउर रंगशालामा भएको उक्त खेलमा रोमा मोन्जासँग १–१ को बराबरीमा रोकिएको थियो ।
खेलका दौरान पहेँलो कार्ड बेहोरेको माउरिन्होले त्यसबेला चिफीबाट बच्नका लागि आफूले माइक्रोफोन प्रयोग गरेको समेत प्रतिृकया दिएका थिए । रोमा गत सिजन सिरी ‘ए’मा छैटौँ स्थानमा रहेको थियो । माउरिन्होको प्रशिक्षणमा रोमाले युरोपा लिगमा फाइनलसम्मको यात्रा तय गरे पनि सेभियासँग हार बेहोरेपछि उपविजेतामो चित्त बुझाएको थियो ।