
काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुुनेबित्तिकै पार्टीका मुख्य सचेतक सन्तोष परियारले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाएर सो विषयमा जवाफ दिने वातावरण सिर्जना गर्न सभामुख देवराज घिमिरेसित माग गरे ।
उनले प्रमुख जिल्ला अधिकारीको मतहतमा जिल्ला निर्वाचन कार्यालय ल्याउन नहुने उल्लेख गरे । “लोकतन्त्र बलियो बनाउनबाट सरकार मनोमौजी गर्दै छ । बजेटको नाममा सरकारले लोकतन्त्रमा हमला गरिरहेको छ । यसलाई शून्य र विशेष समयमा यो विषय उठाउँदा सुनेन सरकारले सुनेन,” उनले भने, “लोकतन्त्रमा निर्वाचन आवश्यक छ । जुन निर्णय सरकारले गरेको छ, त्यो फिर्ता लिओस् । नभए सदनको कारबाही अघि बढ्दैन ।”
रास्वपाका सभापति रवि लामिछानेले त्यसो गरिँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास कसरी हुन्छ भन्दै प्रश्न गरे । संवैधानिक आयोगको क्षेत्राधिकारलाई मिचेर सीडीओ कार्यालयमा ल्याउँदा के हुन्छ निष्पक्षता, संसारले हेर्ने विषय भएको उनले उल्लेख गरे ।