site stats
बाह्रखरी :: Baahrakhari
खेल
चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व सरकारले ग्रहण गर्छ : मन्त्री लिम्बू
फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको सरकारले स्वामित्व ग्रहण गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले चितवनमा धुर्मुससुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व सरकारले ग्रहण गर्ने बताएका हुन् । त्यसको स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

Argakhachi Cement Island Ad

सरकारले स्वामित्व ग्रहण गरेपछि निर्माणका लागि बजेट व्यवस्थापन गरिने पनि उनले बताए ।

‘धुर्मुससुन्तली फाउन्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रंगशालाको निर्माणकार्य अधुरो छ । अत्यन्त जटिल, समस्याग्रस्त छ । यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ । यसको निमित्त शीर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ,” उनले भने, “सरकारले यो स्वामित्व ग्रहण गर्ने, त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रंगशालालाई सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको कुरा म अनुरोध गर्न चाहन्छु ।”

विद्यालयमा बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको पनि उनले बताए ।

खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० खेलकुद संघलाई दुई लाख ५० हजार रुपैयाँका दरले अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

मन्त्री लिम्बूले खेलकुद बिमाको नीति तयार गर्न प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्