
काठमाडौं । स्पेनिस राष्ट्रिय फुटबल टिम तथा स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लामिन यामालले यूईएफए नेसनल लिगको सेमिफाइनलले ‘बालन डी’अर’ विजेता तय नगर्ने बताएका छन् ।
सोमबार यामालले लिगअन्तर्गत स्पेन र फ्रान्सबीच हुने खेलबाट ‘बालन डी’अर’ विजेता तय नहुने बताएका हुन् । स्पेन र फ्रान्सबीच बिहीबार खेल हुँदै छ ।
“म बिहीबार नतिजा स्पेनको पक्षमा आउने कुरामा विश्वस्त छु । उक्त खेल जिते पनि हारे पनि वर्षभरिको उत्कृष्ट खेलाडीलाई भोट दिन्छु,” यामालले सञ्चारकर्मी भने, “बिहीबार म वा डेम्बेलेलाई केही भयो भने तपाईं कसलाई भोट दिनुहुन्छ ? म उत्कृष्ट खेलाडीलाई दिएर उपाधि आफैँसँग राख्छु ।”
यामालको टोली स्पेनले आगामी बुधबार पेरिस सेन्ट जर्मन (पीएसजी)का स्ट्राइकर आसुमान डेम्बेलेको टोली फ्रान्ससँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेलाडी ‘बालन डी’अर’को प्रमुख दाबेदार र टोलीका मुख्य खेलाडीसमेत हुन् ।
डेम्बेलेले हालसम्म एकै सिजनमा लिग वान, फ्रेन्च कप, एक च्याम्पियनस लिग जित्दा क्लब फुटबल र राष्ट्रिय टिमबाट कुल ३५ गोल गरेका छन् । युवा खेलाडीका रूपमा उदाएका १७ वर्षीय लामिनले भने एक ला लिगा, स्पेनिस क्लब र स्पेनिस सुपर कप जित्दा क्लब र राष्ट्रिय टोलीबाट कुल १९ गोल गरेका छन् ।
फ्रेन्च न्युज म्यागजिन फ्रान्स फुटबले वार्षिक रूपमा प्रदान गर्ने यो पुरस्कारको यस संस्करणको मनोनयन आगामी अगष्टको सुरुवातमा सार्वजनिक गरिनेछ । र आगामी सेम्टेम्बर २२ मा समारोह आयोजना हुने तालिका छ ।