
काठमाडौं । काठमाडौंमा १४औँ कर्मचारी खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार आयोजक कर्मचारी खेलकुद प्रतिष्ठान नेपालले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जनाएको हो ।
आयोजकका अनुसार, प्रतियोगिता आगामी जेठ २१ देखि २८ गतेसम्म काठमाडौंको लैनचौर, बूढानीलकण्ठ र टोखा गरी तीन स्थानमा आयोजना हुनेछ । प्रतियोगिातामा ब्याडमिन्टन, फुटसल र टेबल टेनिस गरी तीन खेल समावेश गरिएको छ ।
आयोजकले काठमाडौंको बूढानीलकण्ठमा आगामी जेठ २१ देखि २३ गतेसम्म र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा ब्याडमिन्टन प्रतियोगिाता आयोजना हुने जनाएको छ । ब्याडमिन्टनमा मेन्स सिंगल, मेन्स डबल, वुमेन्स सिंगल, वुमेन्स डबल्स, मिक्स डबल, भेट्रान्स सिंगल (४५ वर्ष माथिका), भेट्रान्स डबल (४५ वर्ष माथिका) र एक्जिुकेटिभ सिंगल्स (तह ९ वा सोभन्दा माथिको) गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ । यी आठ विधाका लागि एक लाख २७ हजार रुपैँया छुट्याएको छ ।
त्यसैगरी, काठमाडौंको टोखास्थित ग्रान्डी स्पोर्टस सेन्टरमा आगामी जेठ २६ देखि २८ गतेसम्म फुटसल प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ १५ टिम र महिलातर्फ ४ टिमले सहभागिता जनाउनेछन् । यस खेलमा पुरुषतर्फ विजेता, उपविजेता र तेस्रो हनेलाई क्रमशः ५५ हजार, ३३ र २२ हजार रुपैँया दिइनेछ । महिलातर्फ भने विजेता र उपविजेतालाई जनाही ३० हजार र २० हजार रुपैँया दिइनेछ ।
त्यसैगरी, काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आगामी जेठ २१ गतेदेखि २३ गतेसम्म टेबल टेनिस प्रतियोगिता हुनेछ । प्रतियोगितामा ब्याडम्टिनतर्फ मेन्स सिंगल, मेन्स डबल्स, वुमेन्स सिंगल, वमेन्स डबल्स, मिक्स डबल र एक्जिुकेटिभ सिंगल्स (तह ९ वा सोभन्दा माथिको) गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ । यी ६ विधाको पुरस्कार राशि २५ हजार ५०० रहेको छ ।
प्रतियोगिताको अनुमानित बजेट १५ लाख २६ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको खर्च प्रायोजक र सहभागिता शुल्कबाट व्यवस्थापन गरिने जनाइएको छ । प्रतियोगितामा १७ विभिन्न संस्थाको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता ३१८ कर्मचारीको प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।