site stats
बाह्रखरी :: Baahrakhari
खेल
ब्रुनोले अस्वीकार गरे अल हिलालको प्रस्ताव

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेजले साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित हुन अस्वीकार गरेका छन् । मंगलबार ब्रुनोले आफ्नो परिवारको सल्लाहमा अल हिलालको प्रस्ताव अस्वीकार गरेका हुन् ।

अल हिलालले आगामी क्लब विश्वकपको निम्ति ब्रुनोलाई भारी तलब र सुविधा दिने जनाउँदै टोलीमा अनुबन्धित हुन प्रस्ताव गरेको थियो । ब्रुनोले अल हिलालको प्रस्तावमा केही दिन गम्भीर चासो पनि दिएका थिए । तर, उनले परिवारसँगको छलफलपछि अल हिलालमा अनुबन्धित नहुने जानकारी दिएका हुन् । 

Argakhachi Cement Island Ad

उनको अनुबन्धनलाई लिएर अल हिलाल र म्यानचेस्टर युनाइटेडको प्रत्यक्ष भेटवार्ता नभएको कारण हालसम्म अल हिलालले कति रुपैयाँमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो भन्ने कुरा स्पष्ट रूपमा खुलाइएको छैन । तर, अल हिलालले ८० देखि १०० मिलियन पाउन्डसम्म प्रस्ताव गरेको अनुमान गरिएको छ । जुन म्यानचेस्टरमा ब्रुनोले पाइरहेको तलबभन्दा दोब्बरले बढी छ ।

यसअघि  म्यानचेस्टरका प्रशिक्षक रुबिन एमोरिमले पनि उनी टोलीमै रहनुपर्ने इच्छा व्यक्त गरेका थिए ।

फर्नान्डेजले हालसम्म म्यानचेस्टरबाट २९० खेल खेलिसक्दा ९८ गोल गरेका छन् । उनी सन् २०२० को जनावरीमा टोलीमा अनुबन्धित भएका थिए । उनलाई म्यानचेस्टरले पोर्चुगी क्लब स्पोर्टिङ पीसीबाट ४७ मिलियन पाउन्डमा भित्राएको थियो । 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्