site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चा : नेतृत्व आलोपालो, स्थानीय तहसम्मै संरचना

काठमाडौं । सत्तामा आसीन तीन दल र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित सोमबार (भोलि) समाजवादी मोर्चा घोषणा हुँदै छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेकपाले संयुक्त रूपमा सोमबार दिउँसो ३ बजे मोर्चा घोषणा गर्ने तय भएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वैचारिक मोर्चा बनाउनका लागिएको बताए । समाजवादको दिशामा अघि बढ्ने शक्तिहरू मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरूलाई समेट्दै जाने उनको भनाइ छ । 

“हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरूलाई मिलाएर लानुपर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ,” नेपाले भने, “त्यसमा सहमत भएका पक्षहरूलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो जो सहमत हुनुभएको छ, उहाँहरू आउनुहुने छ ।”

सत्तामा रहेका दलले नै मोर्चा बनाउन लागिएको भन्दै विभिन्न कोणबाट व्याख्या भइरहेको छ । अध्यक्ष नेपालले भने यसलाई कसैले पनि नकारात्मक रूपमा लिन नहुने बताए । 

“हामीले समाजवादी शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ, जम्मा गरेका छौँ । पहल लिएका छौँ । सक्रियता देखाएका छौँ,” सञ्चारकर्मीसँग उनले भने, “यसबाट चिन्तित हुनुपर्ने, आफ्नोविरुद्धमा कदम चालेको नकारात्मक रूपमा लिनुपर्ने कसैले पनि आवश्यकता छैन ।”

नेतृत्व आलोपालो, स्थानीय तहसम्म विस्तार गरिने

समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । निर्णय प्रक्रियमा भने सबै नेता सामेल हुने छन् ।

“र्मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने छ,” गठबन्धनमा भएको सहमतिबारे एक नेताले भने, “यस मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने छन् ।”

मोर्चाको नीतिगत निर्णय गर्न  दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति बनाइने बताइएको छ । 

समितिले समान उद्देश्य, नीति, कार्यक्रम अनुसार राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्न सक्ने व्यवस्था गरिएको छ । 

मोर्चालाई आवश्यकता अनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने नेताहरूबीच सहमति जुटेको छ । 

मोर्चाका १५ उद्देश्य तथा प्रतिवद्धता

समाजवादी मोर्चा संविधानको संशोधन, शान्ति प्रकियाका बाँकी कामहरूको पूर्णता दिनेसहितका उद्देश्यले गठन गरिएको बताइएको छ । 

“संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने उद्देश्यले हामीनिम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि समाजवादी मोर्चा, नेपाल (सोसियलिस्ट फ्रन्ट, नेपाल) गठन गर्न सहमत भएका छौँ,” मोर्चाको प्रस्तावनामा उल्लेख छ  ।

समाजवादी मोर्चाले १५ बुँदे उद्देश्य लिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने पहिलो उद्देश्य मोर्चाको छ । 

घोषणका लागि तयार गरिएको प्रस्तावनामा रााजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडावर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्गसहित सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, आर्थिक समृद्धिको माध्यमबाट समाजिक र सांस्कृतिक रूपान्तरण गर्ने मोर्चाको उद्देश्य छ । 

“श्रम–संस्कृतिलाई प्रोत्साहित गर्ने । श्रमजीवी जनताको पहलकदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने,” प्रस्तावनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro