काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले १०० रनको साझेदारी गरेका छन् । हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २२.५ ओभरमा विकेट नगुमाई १०० रन पूरा गरेको हो ।
नेपालबाट क्रिजमा रहेको कुशल र आसिफ क्रमशः ६० र ३३ रनमा खेलिरहेका छन् । कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।
नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।