काठमाडौं । हङकङसँको खेल रद्द हुँदा नेपाल एसीसी महिला इमर्जिङ टिम्स कपको समूह चरणबाटै बाहिरिएको छ ।
हङकङको मोङककस्थित मिसन रोड मैदानमा शनिबार नेपाल र घरेलु टिमबीचको खेल हुने तालिका थियो । तर, वर्षाका कारण मैदान खेल्न योग्न नभएपछि टससमेत नभई खेल रद्द भएको हो ।
खेल रद्द हुँदा प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल तेस्रो स्थानमा रहँदै बाहिरियो । यसअघि नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण सम्भव नभएपछि रद्द भएको थियो । प्रतियोगिताको पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको थियो ।
समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे । तीन खेलबाट समान चार अंक जोडे पनि भारत समूह विजेता र पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले यो प्रतियोगितामा खेल्ने अवसर पाएको हो । एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली टोलीको यो पहिलो सहभागिता हो ।