site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
करोडका खेलाडी
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्जुन पोखरेललाई एउटा प्रश्न– तपाईं गीतकार कि संगीतकार ? ‘साँच्चै म संगीतकार हुन्न थिएँ भने मान्छेले मलाई गीतकारका रूपमा चिन्थे होला ?’ अर्जुनले प्रतिप्रश्न गरे । तर, उनी स्वयं बेलाबेलामा यो प्रश्न आफैँले आफैँलाई सोधिरहँदा रहेछन् ।

“म संगीतकार हुँदैन थिएँ भने मैले लेखेका गीतकै आधारमा मेरो छवि गीतकारको हुन्थ्यो कि हुँदैन थियो भन्नेमा म पनि बेलाबेलामा सोच्छु,” अर्जुन भन्छन्, “तर, सत्य के हो भने म संगीतलाई ओझेलमा पार्ने गरी गीत रचनामा त लागिरहेको छैन ? भनेर बेलाबेलामा आफैँले आफैँलाई पनि प्रश्न गरिरहेको हुन्छु ।” अर्थात्, लेखनले संगीत सिर्जनालाई थिचिरहेको त छैन ? भन्ने डरले उनको मनमा बेलाबेला घर गर्छ । तर, आफैँलाई चित्त बुझेपछि काम त गर्नैपर्‍यो ! गरिरहेका छन् ।

‘तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्...’, ‘जब जब तिम्रो साथ मिल्दै गयो...’, ‘तिमी रोएको पल तिमीलाई...’, ‘म यस्तो गीत गाउँछु...’, ‘तिम्रो घरको वरिपरि...’, ‘सँगसँगै सहेको त्यो...’, ‘तिम्रो लागि म छु, यो दुनियाँ छोडिदेऊ...,’ ‘नबोली नबोली...’, ‘पछि उमेर ढल्किन्छ, कालै पल्किन्छ...’ (दीपकराज गिरीसँगको सहकार्यमा) यी गीतका गीतकार हुन्, अर्जुन पोखरेल । अर्जुनले यी गीत लेखेनन् मात्र, दर्शकले मन पनि पराए । त्यसैले त अर्जुनका यी गीत युट्युबमा करोडपटकभन्दा धेरै हेरिए । करोडपटक नहेरिएका गीत उनका कति छन् कति । केही करोडका छेउछाउ पुगेका गीत पनि छन् । 

Dabur nepal
Agni Group

० ० ०

गीत जति लेखून्, हिट हून्, तिनले करोड क्लबको सयर गरून्, तर अर्जुनको छवि र पहिचान संगीतका सुर सिर्जनाले नै बनाएको हो । धेरैले अर्जुनलाई चिन्ने पनि संगीतकारकै रूपमा हो । उनलाई यो पनि लाग्दो रहेछ, ‘संगीतका नाममा मैले मेरो गीत लेखन कार्र्यलाई मारिरहेको त छैन ?’ यो डरकै कारण उनले गीत लेखन रोकेका छैनन् । निरन्तरता दिइरहेकै छन् ।

आफूले लेखेका गीतमा त उनको संगीत छ नै । योबाहेक पनि उनले थुप्रै गीतमा संगीत भरेका छन्, ती लोकप्रिय छन् । ‘रहर छ सँगै तिमीसँग हुने...’, ‘सक्तिनँ म...’, ‘म त अलपत्रै पर्छु तिमी नभएको बेला...’, ‘मैले सोचेको जस्तै...’, ‘भन्छु आज मनका कुरा...’, ‘सैवा है सैवा...’, ‘ओइ झुमा झुम्कावाली...’, ‘जरुरी कुरा छ...’, ‘किन आजकाल तिम्रो मन मैले भो...’, ‘कसलाई थाहा छैन...’ अर्जुनले संगीतको सुर चलाएका गीत हुन् । जसमा स्रोताको मोह देखियो ।

‘किन आजकाल तिम्रो मन मैलो भो...’, ‘बाजा बजाउँदै...’ अर्जुनले स्वर भरेका गीत हुन् । यी गीत पनि करोड क्लबमा छन् । अर्थात्, करोडपटकभन्दा धेरै हेरिएका छन् । केही गीत एउटा च्यानलबाट अर्को च्यानलमा सार्दा त्यसको भ्युज थोरै देखिएको अर्जुन बताउँछन् । पहिलो च्यानलमा हुँदा करोडपटक हेरिएका उनका अरू गीत पनि छन् । लेखन, संगीत र गायन मात्र होइन, उनले एरेन्ज गरेका गीत पनि करोड क्लबमा छन् । युट्युब भ्युजलाई गीतको गुणस्तर छुट्टयाउने माध्यम मान्न सकिन्छ/सकिँदैन त्यो अर्को अध्ययन र बहसको विषय हो । तर, यो पनि मूल्यांकनको एउटा माध्यमचाहिँ निःसन्देह हो । भ्युजलाई मात्र लोकप्रियता र गुणस्तर भने मान्न सकिने अवस्था छैन । कतिपय राम्रा गीत युट्युबमा भ्युज नगएका पनि छन् ।

जे होस्, संगीत, लेखन, गायन र एरेन्ज चारै विधामा अर्जुन पोख्त संगीतकर्मी हुन् । सबै विधामा हात हाल्दा त्यसको असर अर्को विधामा पर्ने त होइन भन्ने उनलाई चिन्ता छ । 

० ० ०

थोरै भए पनि काव्यात्मक शब्दको खोजी र मेलोडीमा विश्वास गर्ने संगीतकर्मी हुन्, अर्जुन । शब्द र मेलोडीले गीत चलाउनुपर्छ भन्ने उनको मान्यता छ । उनका पाँच दर्जन गीत लोकप्रिय छन् । मेलोडी र शब्दकै बलले त्यो सम्भव भएको अर्जुनको बुझाइ छ । आधा दर्जन गीत करोड क्लब आसपास छन् । ती चाँडै करोड क्लबमा प्रवेश गर्ने अर्जुनको अपेक्षा छ । 

० ० ०

कुनै घटनाविशेषले उनलाई छुन्छ, कोही कसैको जिन्दगी नजिकबाट नियाल्छन् । आफैँले केही कुरा भोग्छन् भने त्यसलाई गीतमा ढाल्छन् । केही दिनअघि उनलाई कसैको मुहारले यसरी आकर्षित गर्‍यो, त्यो सुन्दरताले गीतका शब्द नलेखी उनी बस्नै सकेनन् । गीत जन्मियो–
तिम्रो मुहार हेरेपछि आफ्नै अनुहार बिर्सन्छु म
प्रेमको यो पागलपनबाट खै कसरी निस्कन्छु म 
कहीँ नभएको खुसी पाउँछु तिमीसँग हुँदाखेरि
सास रोकिन्छ बात रोकिन्छ तिमीले मलाई छुँदाखेरि 

अर्जुनलाई गीत लेख्दा झोक्राउनु पर्दैन । खरर्र शब्द आउँछ । त्यसैगरी संगीतको मेलोडी पनि । त्यसैले त सुन्नेलाई पनि सम्भवतः उनका गीत सकस हुँदैन ।

गीत बनाउने उनको एउटा सूत्र छ । “म लभ सङ बनाऔँ वा ट्रयाजिडी, मेरा गीतले सुन्नेलाई पोजेटिभ भाइब्सचाहिँ दिनुपर्छ । होइन भने म गीत नै बनाउँदिनँ,” अर्जुन गीत लेखनको आफ्नो फर्मुला सुनाउँछन्, “नारीले पुरुष वा पुरुषले नारीलाई गाली गरेका गीत म बनाउँदिनँ ।”

उनले महसुस गरेको अर्को पक्ष हो, समर्पण भाव । समर्पण भाव भएका गीतले हरेक उमेरका व्यक्तिलाई छुने गरेको उनको अनुभव छ ।

गीत (शब्द) त अर्जुनलाई थुप्रै आउँछ, त्यसमध्ये उनी काव्यतात्मक छान्छन् । यो चल्छ भनेर उनी लोभ कम गर्छन् । 

कारण ?

“मलाई बचाउने शब्द र मेलोडीले हो । कालजयी त्यस्तो सिर्जना हुन्छ, जुन शब्द काव्यात्मक र मेलोडी मिठो हुन्छ । बाँकी त दुई दिनका रामछाया न हुन्,” अर्जुन भन्छन् ।

अर्जुनले अहिलेसम्म ९६ फिल्ममा गीत–संगीतको काम गरेका छन् । कुनै सिनेमामा एउटा गीत होला, कुनैमा चारवटासम्म । एउटै सिनेमाका दुई/तीन गीत पनि उनका हिट छन् । करोडपटक हेरिएका छन् । 

० ० ०

अब कालजयी गीत बनाउन सकिँदैन ?

कसरी लेख्छन् त हिट गीत, कसरी दिन्छन् त हिट संगीत ? फर्मुला उही हो– काव्यात्मक शब्द र मिठो मेलोडीको छनोट र सिर्जना । 

कसरी हुन्छ सम्भव ? 

जब मेकरले उनलाई स्क्रिप्ट र पात्र सुनाउँछन्, अर्जुन अनुभूत गर्न थाल्छन्– त्यो सिचुएसनमा म छु र त्यो सिनेमाभित्रको पात्र पनि म नै हुँ । त्यसपछि उनलाई आउँछ, गीतको शब्द र संगीत । जसलाई उनी मूर्तरूप दिन्छन् ।  

संगीत गर्दा– 
शब्दको भावले उचाइ खोजेको छ कि कोमलपन ? शब्दले बोलेअनुसारको फ्लोमा मेलोडी सिर्जना गर्छन् । रुने शब्द आए सफ्ट मेलोडी हाल्छन्, रोमान्टिक शब्द आए त्यस्तै नोट चलाउँछन् । शब्दभित्र डुब्न सके मेलोडीले त्यसलाई न्याय गर्ने अन्यथा त्यो कर्कस सुनिने सम्भावना उच्च हुने अर्जुनको अनुभव छ ।  

० ० ०

आफूले गीत लेख्दा अर्जुन दुई वा चार लाइनको स्थायी लेख्दैनन् । ६ देखि १० लाइनसम्मको लेख्छन् । ‘म यस्तो गीत गाउँछु...’ होस् वा ‘तिमी रोएको पल...’ अथवा ‘तिम्रो घरको वरिपरि...’ चार लाइन स्थायी भएका गीत होइनन् ।

आफैँले गीत लेखेकाले कम्पोजिसनमा भेरिएसन दिन सहज भएको त होइन ? उनी आफैँले पनि यो अनुभूत गरिरहेको पक्ष हो । दुई वा चार लाइनको मेलोडीमा मात्र बाँधिएका भए उनी त्यसमै सीमित भइरहेका हुन्थे । त्यसो त दुई लाइन कम्पोजिसन पनि नगरेका होइनन् । र, नचलेका पनि होइनन् ।

लेखेका सबै गीत राम्रा हुँदैनन्, भलै आफूलाई बबाल नै किन नलागेको होस् । एउटा कानलाई कर्णप्रिय लागेको त्यही गीत अर्कोलाई औसत मात्र पनि नलाग्न सक्छ । त्यसैले अर्जुनसँग एउटा कोर ग्रुप छ, जोसँग उनी फिडब्याक लिन सक्छन् । लिन्छन् । त्यो ह्वाट्सएप ग्रुपमा सातजना छन् । जसमा अहिलेको प्लस टु जेनेरेसनदेखि उमेर परिपक्व भइसकेका व्यक्ति छन् । ती अर्जुनको सिर्जनाका पहिलो स्रोता हुन् । अर्को शब्दमा भन्दा मूल्यांकनकर्ता पनि ।

“कति त मैले यो फाइन छ भनेर त्यो ग्रुपमा नहाली पनि बाहिर ल्याउँछु । तर, कतिचाहिँ म त्यो ग्रुपमा हाल्छु,” उनी भन्छन्, “फरक–फरक उमेर र पेसाका व्यक्ति भएकाले त्यहाँबाट सही फिडब्याक आउँछ । कति म त्यो ग्रुपबाट आएको फिडब्याकबाट करेक्सन पनि भएको छु । मैले काम गरिरहेको भन्दा फरक प्रकृतिका गीत पनि सुन्ने भएकाले उनीहरूले यस्तो पो राम्रो होला कि भन्छन् ।” 

आफू हिँडेको बाटो सधैँ सही नहुन पनि सक्छ । त्यस्तो पनि अर्जुनले अनुभव गरिसकेका छन् । केही समयअघि अर्जुनले एउटा मेलोडी बनाए । उनी आफैँलाई लाग्यो– वाउ ! यस्तो पो मेलोडी, योचाहिँ बबाल नै हुने भयो !

“दुई दिनसम्म मैले पटक–पटक सुनेँ । मलाई लाग्यो– योचाहिँ साँच्चै राम्रो छ । दुई दिनपछि मैले त्यो मेलोडी त्यही ग्रुपमा पठाएँ । मलाई एकजनाले भन्नुभयो– यो हिन्दी गीत हम दोनो...को मेलोडीसँग मिलेन र सर ?”

हँ ! अर्जुनले त्यो गीतको मेलोडी सुने । हो त रहेछ ! “७० प्रतिशत मिलेको रहेछ,” अर्जुन भन्छन्, “मैले सुनेको गीत थियो, त्यो । सबकन्सस माइन्डमा बसेको थियो होला, त्यसैले त्यो मेलोडी मेरो दिमागमा आयो । यदि, मैले यो ग्रुपमा राखेको थिइनँ भने मलाई त चोरीको आरोप लाग्थ्यो । म इमानदार थिएँ, चोरी गरेको होइन । तर, बजारले त पत्याउँदैन थियो ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro