site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब कालजयी गीत बनाउन सकिँदैन ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रिलिजको केही समय ‘भाइरल’ भनिएका गीत नै पछिल्लो समय केही महिनामै गुमनाम हुन्छन् । ५० को दशकसम्म त्यस्तो हुँदैन थियो । एकपटक लोकप्रिय भएर स्रोताले रुचाएपछि ती गीत कालजयी हुन्थे । दशकौँसम्म गुञ्जिन्थे । अहिले त्यो असम्भवजस्तै छ । 

कारण के हो ? 
गीतकार दिनेश अधिकारी यसमा सबैभन्दा धेरै दोषी सञ्चारमाध्यम रहेको बताउँछन् । “बजारमा धेरै कुरा किन्न पाइन्छ । तर, पाइन्छ भन्दैमा हामी शरीरलाई असर गर्ने कुहिएको कुरा किन्दैनौँ,” दिनेश भन्छन्, “तर, यहाँ चल्छ भन्दैमा मिडियाले कुहिएको कुरा बेच्ने काम गरे । त्यसैले यसमा सबैभन्दा धेरै दोषी सञ्चारमाध्यम हुन् ।” मिडिया गैरजिम्मेवार बनेको उनको आरोप छ ।

स्तरीय संगीतलाई प्रश्रय दिनुपर्नेमा मिडिया लोकप्रियताको पछाडि लागेको उनी बताउँछन् । सोही कारण क्वालिटी संगीत छायामा पर्दै गएको उनको भनाइ छ । त्यस्ता गीतकै बाहुल्यता देखिएपछि यसको भेल आएको उनको टिप्पणी छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“सामान्य अवस्थामा नदीमा १० मिनेटमा पार गर्ने दूरी हिउँदको भेलले दुई मिनेटमा पार गर्छ,” उनी भन्छन्, “त्यस्तै चल्ने गीतको भेल अहिले आइरहेका छन् । तर, यो भेल केही समयमा रोकिन्छ ।”

मिडियासँगै स्वयं संगीतकर्मी पनि दोषी रहेको उनको धारणा छ । अहिलेको अवस्था आउनुमा गीतकार, संगीतकार र गायक/गायिका पनि जिम्मेवार रहेको उनी औँल्याउँछन् । “सायद हामी पनि रहर र लहडका भरमा मात्रै सांगीतिक क्षेत्रमा काम गरिरहेका छौँ कि ?,” दिनेशको प्रश्न छ, “संगीतलाई लहड र रहरको विषय बनाउँदा क्वालिटी म्युजिक खस्कियो कि !”

Royal Enfield Island Ad

गायक तथा संगीतकार तिलकसिंह पेला हृदयमा बास गर्न सक्ने सिर्जना नआउनुलाई यसको मुख्य कारण मान्छन् । पहिलाका गीत एउटा हृदयदेखि अर्को हृदयसम्म पुग्ने तर अहिले मिडियाबाजी मात्र हुने गरेको उनी सुनाउँछन् ।

“पहिलाका व्यक्ति गीत निकाल्ने तयारी गरेपछि राम्रो गीतकार र संगीतकार छनोट गर्नुहुन्थ्यो । आफैँ पनि लामो समय अभ्यास गर्नुहुन्थ्यो । त्यसैले पहिलाका गीत पछिसम्म पनि खोजेर सुनिए । ती गीत दशकौँसम्म पनि सुनियो,” संगीतसाधक तिलक भन्छन्, “हिजोआज मार्केट ओरियन्टेड भएको जस्तो लाग्छ । जस्तोसुकै गीत होस्, जस्तोसुकै संगीत होस्, बिनाअभ्यास गाउने र कुन माध्यमबाट कसरी हिट हुने भन्ने मात्रै सोच रहने गरेको मैले देखेको छु ।”

अधिकांशले ‘पपुलारिटी’का लागि काम गर्दा साधना गर्नेलाई समेत आफ्नै क्षमतामा विश्वास गर्न कठिन भइरहेको तिलक बताउँछन् । बजारअनुसार चल्नुपर्ने बाध्यताले साधना गर्नेहरू पनि ‘लतारिएर’ मार्केट ओरियन्टेड हुन थालेको उनको धारणा छ ।

“पछि विस्तारै फिल्टर हुँदै जाला, त्यो आफ्नै ठाउँमा छ । तर, अहिले जुन ट्रेन्ड देखापरेको छ, यसले नेपाली संगीत र साहित्यमा नै नकारात्मक असर देखिन्छ,” उनी भन्छन्, “लामो समय नेपाली गीत–संगीत पपुलर संगीतको पछि लाग्ने हो भने यसले हाम्रो यथार्थ संगीत के हो भन्नेमै प्रश्न उठाउँछ । हाम्रो मौलिक संगीत नै विस्तारै लोप हुने अवस्थामा पुग्छ ।”

पपुलारिटीका लागि ‘हाइब्रिड’ गीत–संगीत ल्याउने गरिएको उनको बुझाइ छ । यस्तै अवस्था रहिरहे नेपाली पहिचान झल्काउने गीत–संगीत नै नरहने तिलकको चिन्ता छ । पपुलर गीतमा सहजै धेरैको पहुँच पुग्ने र राम्रो गीत–संगीत खोजेर सुन्ने तथा प्रोत्साहन गर्ने बानी पनि धेरैमा नरहेको सत्यलाई सबैले स्वीकार गर्नुपर्ने उनी बताउँछन् ।

“आम रूपमा जस्ता गीत–संगीत आइरहेका छन्, त्यही नै सत्य र सही हो भन्ने धेरैको बुझाइ छ । हाम्रो मिडियाको पनि यो कमजोरी हो,” उनी अगाडि थप्छन्, “हाम्रो समाजको पनि कमजोरी छ । हाम्रो आफ्नो कुन हो र के हो ? कुन राम्रो हो भन्ने छुट्टयाएर समाजले पनि आफूलाई उपलब्ध अधिकारको सदुपयोग गर्नुपर्नेछ ।”

संगीतको मर्ममै प्रहार
संगीतकार टीका भण्डारी भूमण्डलीकरण यसको एउटा कारण भएको बताउँछन् । प्रविधिमा सहज पहुँच र सहजताका कारण संगीतका सबै पक्षमा विकृति भित्रिएको उनको बुझाइ छ । त्यसको नियमन र नियन्त्रण हुन नसक्नु नै राम्रा सिर्जना आउन नसक्नुको कारण भएको उनी बताउँछन् ।

“कुन कताबाट आयो र कता गयो, कुन कहाँबाट नक्कल भयो र कसले कसरी कपी गर्‍यो भन्ने नै ५० को दशकपछि थाहा हुन छोड्यो । यही अन्योलमा गीत–संगीत पनि आए । एफएमहरूको विकासपछि हरेक कोठाकोठामा स्टुडियो बन्न थाले । कोठाकोठामा गीत रेकर्ड हुन थाले । राम्रो/नराम्रोभन्दा पनि गायक/गायिका बन्छु भन्ने लहडमा धेरै आए,” टीका भन्छन्, “कुन स्टुडियोमा रेकर्ड भएको हो, राम्रो छ/छैन, कुन असली र कुन नक्कली हो भन्ने छुट्टयाउने मेकानिजम भएन । यसले स्रोतालाई नै दिग्भ्रमित बनाइदियो । कुन राम्रो, कुन नराम्रो भन्ने छट्टयाउन स्रोतालाई पनि कठिन भयो ।”

नकारात्मक पाटो अगाडि आउन थालेपछि क्वालिटी म्युजिक खस्किएको उनी बताउँछन् । सञ्चारकर्मी समेत रहेका संगीतकार टीका क्वालिटी म्युजिक बिक्री हुनै छोडेको सुनाउँछन् ।

“अहिले कसैले मिहिनेत गरेर राम्रो गीत बनाएर ल्यायो भने कमैले सुन्छन् । तर, अलिकति अश्लील, नोकझोक र सतही गीत ल्यायो भने त्यो हिट हुन्छ । सामाजिक सहिष्णु भत्काउने किसिमका गीत चल्छन्,” उनी अगाडि थप्छन्, “अहिले यसरी गीत–संगीतको मूल संरचनामाथि नै प्रहार भइरहेको छ । जो ओर्जिनल गीतको घराना आइरहेको थियो, त्यो पछाडि पर्‍यो । आउने कुरा अगाडि आएन । तर, जुन कुरा नआउनुपर्ने थियो, त्यो अगाडि आइदियो । जुन कुरा अगाडि आयो, त्यही नै ठिक हो भन्ने आमस्रोतालाई लाग्न थाल्यो । परिणाम, राम्रो संगीत ओझेलमा पर्‍यो ।”

अहिले गीतले नचाउनुपर्छ भन्ने मान्यता छ । पछिल्लो समय नेपाली संगीत उद्योग स्टेजमा नाच्ने गीत बनाउनेतर्फ अग्रसर रहेको टीका बताउँछन् । यो क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताले यसैलाई ‘फलो’ गर्दै आएको उनी स्पष्ट पार्छन् ।

मोनोलग हुँदै बीचमा विभिन्न चरण पार गर्दै अहिले रेकर्डिङको प्रविधि डिजिटल छ । यसको विविधता बुझ्न नसक्दा पनि समस्या भइरहेको उनको ठहर छ ।

“जहाँ भेरिएसन हुन्छ, त्यहाँ चौपट्ट पनि हुन्छ । अहिले प्राप्त सुविधाले कलाकारलाई विलासी र अल्छी बनाइरहको छ । गीत गाउन स्टुडियोमा जाँदा गायकलाई म कुन गीत कस्तो संगीतमा गाउँदै छु भन्ने पनि थाहा हुँदैन,” पछिल्लो समय सांगीतिक क्षेत्रमा देखिएको विकृतिबारे टीका स्पष्ट बोल्छन्, “स्टुडियोमा पुगेर गीत मागेर त्यहीँ प्राक्टिसजस्तो गरेर आधा घण्टामा गीत गाउने अहिलेको चलन छ । यसले क्वालिटी म्युजिकमा प्रहार गरिरहेको छ ।”

थामी नसक्नुको बाह्य प्रभावलाई रोक्न नसक्नु र सन्तुलन गर्न नसक्दा कुन हाम्रो र कुन अर्काको भन्ने समेत थाहा हुन छोडेको टीकाको गुनासो छ । गीत–संगीतमा पनि समावेशिता भित्रिएको भन्दै उनी अनावश्यक प्रतिस्पर्धाले यसको मर्ममै प्रहार गरिरहेको जिकिर गर्छन् ।

“जब संगीतको सुरमा समावेशिताको कुरा उठ्छ, अनावश्यक प्रतिस्पर्धा हुन्छ । साधना हुँदैन । त्यसपछि यसमा गुणस्तर पनि हुँदैन,” टीका भन्छन्, “अझै यो क्रम कम्तीमा एक वर्ष चल्छ भन्ने लाग्छ । तर, जब रियलाइजेसन, रिथिंकिङ, र रिभ्यालुएसन हुन थाल्छ, त्यसपछि पुनः पुरानै कुरा ठिक रहेछ भन्नेमा समाज पुग्छ ।”

५० वर्षअघिका गीत अहिले पनि नेपालीले गाइरहेका छन् । तर, १० वर्षअघिका गीत सम्झनाको तरेलीबाट ओझेल परिसकेको उनी बताउँछन् ।

“११४ वर्षअगाडि गाएको राजमति कुमति... अहिले पनि सबैले गाउँछन् । तर, ५० को दशकदेखि ८० को दशकमा बनेको कुन गीत अबको सय वर्षपछि गाउलान् ?”

कालजयीकरण क्षयीकरण भएको उनको निष्कर्ष छ । “अहिलेका गीत १० वर्षपछि कसैले पनि गाउँदैन भने त्यो कसरी राम्रो सिर्जना कहलिन्छ र कालजयी हुन्छ ?,” उनको गम्भीर प्रश्न छ ।

प्रयासै नभएको होइन  
संगीतकार अर्जुन पोखरेल अहिलेको पुस्ताले पनि कालजयी संगीत सिर्जनाका लागि प्रयास गरिरहेको तर ‘नोटिस’ कम भएको बताउँछन् । आफूले मेलोडी र शब्दमा सकेसम्म सम्झौता नगर्ने उनको भनाइ छ ।

५० को दशकअघिका गीतका शब्द स्तरीय हुने गरेकामा भने दुई मत नरहेको उनी स्वीकार गर्छन् । “त्यो समय गीतका शब्द स्तरीय हुन्थे । विम्ब र प्रतीकको प्रयोग गरेर भाषिक रूपमा शुद्ध गीत लेखिन्थ्यो । वरिष्ठ गीतकारहरूले गीत लेख्नुहुन्थ्यो,” अर्जुन भन्छन्, “यसमा भने अहिले धेरैले सम्झौता गर्ने गरेको पक्कै हो । व्यावसायिक रूपमा कस्ता गीत सफल हुन्छन् भनेर त्यसमा ध्यान दिएको पाइन्छ ।”

यो समयको उपज भएको अर्जुनको तर्क छ । अहिले युट्युब र टिकटकमा निःशुल्क असंख्य गीत उपलब्ध छ । यस्तो अवस्थामा एउटै गीत दोहोर्‍याएर सुन्नेको जमात कम रहेको उनी बताउँछन् ।

“५० को दशकको अन्तिमसम्म पनि गीत सुन्ने मुख्य स्रोत रेडियो नेपाल र केही एफएम रेडियो मात्रै थिए । केहीले क्यासेट किनेर ६ महिनासम्म एउटै गीत सुन्ने प्रचलन थियो,” अर्जुन भन्छन्, “हामीले बाल्यकालमा जुन गीत सुन्यौँ र मन पर्‍यो, त्यो गीत हाम्रो दिमागमा बसेको हुन्छ । त्यही गीत नै राम्रो लाग्छ । र, पछिसम्म पनि खोजेर सुन्छौँ ।”

‘कुटुमा कुटु...’, ‘तिमी रोएको पल...’ जस्ता गीत स्रोता/दर्शकले अत्यधिक रुचाएको र अहिलेको समयमा तिनलाई ‘क्वालिटी म्युजिक’मा राख्न सकिने अर्जुनको धारणा छ । यी गीतले ठूलादेखि साना सबैको भावना समेट्न सकेको उनको तर्क छ ।

अहिलेको पुस्तासँग पर्याप्त विकल्प रहेको उनी बताउँछन् । नेपालीसँगै हिन्दी र पश्चिमा गीत पनि सुन्ने जमात ठूलो छ । त्यसैले बजारले के खोज्छ र आर्थिक रूपमा के सफल हुन्छ, त्यसमा धेरै संगीतकर्मीको ध्यान जाने गरेको उनी स्वीकार गर्छन् । क्वालिटी म्युजिक मात्र गर्छु भनेर बसेका संगीतकर्मी पनि आर्थिक रूपमा सफल हुन बजारअनुसार चल्न थालेको उनको भनाइ छ ।

“अहिले चलनचल्तीका गीत छान्नुपर्ने बाध्यात्मक अवास्था आइसकेको छ । यो नेपालमा मात्रै होइन, विश्वभर नै यस्तै हो,” अर्जुन बजारको विवशता सुनाउँछन् ।

पहिलाजस्तो अहिले सहज नरहेको भन्न अर्जुन हिचकिचाउँदैनन् । “पहिला गायक/गायिका मात्रै होइन, नायक/नायिका पनि लामो समय अस्तित्वमा रहिरहनुहुन्थ्यो,” उनी भन्छन्, “तर, अहिले यी दुवै क्षेत्रमा उस्तै अवस्था छ । नयाँले चाँडैचाँडै पुरानोलाई रिप्लेस गर्दै गइरहनुभएको छ । कारण, चलनचल्तीअनुसार चल्नुपर्ने अवस्था छ । होइन भने नयाँले आएर तुरुन्तै आफ्नो बाटो बनाउँछ, पुरानो पछि पर्छ ।”

क्वालिटी म्युजिकलाई ध्यान दिँदै आफूले केही चलचित्रमा गजल समावेश गरेको अर्जुन सुनाउँछन् । ‘म त अलपत्रै पर्छु...’, ‘उनी आकाशबाट झरेकी अप्सरा...’ लगायत गजल राम्रो संगीत स्रोतालाई सुनाउनुपर्छ भनेर आफूले आग्रह गरेर चलचित्रमा राख्न लगाएको उनी बताउँछन् ।

“यसको अर्थ हामीले राम्रो कामको प्रयास पनि गरिरहेका छौँ भन्ने हो,” उनी भन्छन्, “तर, कतिपय सन्दर्भमा हामीले पनि बजारको परिवर्तित मागअनुसार चल्नु परिरहेको छ । हामी मात्रै होइन, हाम्रा अग्रजहरू नै हामीभन्दा पनि धेरै परिवर्तित समय र मागअनुसार चलिरहनुभएको जगजाहेर छ ।”

किन खस्कियो संगीतको गुणस्तर ?
वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि रेकर्डिङमा स्वतन्त्रता आउँदा संगीतमा ‘क्वालिटी’ खस्किएको र गीत कालजयी हुन नसकेको उनको भनाइ छ । त्यसअघिसम्म रेडियो नेपालमा मात्र गीत रेकर्ड गरिन्थ्यो ।

“रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुँदा त्यहाँ गीत जाँच्ने पद्धति थियो । त्यो सही हो वा गलत आफ्नै ठाउँमा छ । तर, त्यसले भाषिक शुद्धता हेरेर छनोट गर्दा केही न केही क्वालिटी मेन्टेन हुन्थ्यो,” गीतकार दिनेश अधिकारी भन्छन्, “पहिला कसैले संगीतकर्मीलाई गाइड गर्थ्यो, तर अहिले आफैँले आफूलाई जज गर्नुपर्ने अवस्था छ ।” आफैँले आफूलाई मूल्यांकन गर्दा संगीतकर्मी जिम्मेवार हुन नसकेको उनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro