site stats
बाह्रखरी :: Baahrakhari
कला
‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौं । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसंगीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 

प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

“यस वर्षको सम्मान तथा पुरस्कार गायक प्रधानकै जिल्लामा दिने तयारी छ । उहाँको सम्झनामा गीतसंगीतमा आफ्नो जीवन समर्पित गरेकालाई थोरै भए पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ”, कोषाध्यक्ष मास्केले भनिन् ।  

यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान– २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उनलाई सम्मानसँगै एक लाख एक हजार नगद राशि प्रदान गरिनेछ ।

‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसंगति सम्मान–२०८२’बाट वरिष्ठ वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि ५० हजार एक रहेको छ ।

यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिंह घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत पुरस्कार–२०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि २५ हजार एक रुपैयाँ रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिइन् । 

नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्