
काठमाडौं । सुनकोसी नदीमा मंगलबार गाडीमा भेटिएका दुई शवको पहिचान भएको छ ।
मंगलबार साँझ गाडीभित्र दुईजनाको शव भेटिएको थियो । तर, उनीहरूको पहिचान हुन सकेको थिएन ।
परिवारको सहयोगमा उनीहरूको पहिचान गरिएको सिन्धुलीका डीएसपी चीरनञ्जीवी दाहालले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो ।
पोस्टमार्टमका लागि दुवै शव काठमाडौं ल्याइएको छ ।
गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए ।
सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको अवस्था अज्ञात छ ।