site stats
बाह्रखरी :: Baahrakhari
खेल
हालान्ड भन्छन्– ‘ट्रेबल’ उपाधिका लागि सक्ने सबै गर्छु

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ ब्राउट हालान्डले क्लबलाई ऐतिहासिक ‘ट्रेबल’ उपाधि जिताउनका लागि सक्ने सबै प्रयास गर्ने बताएका छन् । 

सिटीले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । र, सिटी एफए कप र यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 

सिटीले शनिबार हुने एफए कप फाइनलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ भने जुन १० मा हुने च्याम्पियन्स लिग फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध खेल्नेछ । 

Argakhachi Cement Island Ad

haaland121685689470.jpg

सिटीको सहरी प्रतिद्वन्द्वी युनाइटेडले १९९९ मा ‘ट्रेबल’ उपाधि जित्ने सफलता हासिल गरेको थियो । सिटीले यस सिजन त्यो सफलता गरे ‘ट्रेबल’ उपाधि जित्ने दोस्रो इङ्लिस क्लब बन्नेछ । “यो अविश्सनीय इतिहास बन्न सक्छ,” नर्वेका २२ वर्षे हालान्डले भने । 

इङ्लिस प्रिमियर लिगमा पछिल्लो समय सिटीको दबदवा रहे पनि अहिलेसम्म युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । तथापि, क्लबले अहिलेसम्म हासिल गर्न नसकेको सफलता यसपटक प्राप्त गर्ने हालान्डले विश्वास व्यक्त गरेका छन् । 

“पक्कै पनि यसैका लागि सिटीले मलाई अनुबन्ध गरेको हो । यसमा लुकाउनु पर्ने केही छैन,” हालान्डले बीबीसीसँग भने, “यसले सबै कुराको अर्थ राख्छ । म यसलाई पूरा गर्नका लागि सक्दो सबै प्रयास गर्नेछु । यो मेरो सबैभन्दा ठूलो सपना हो । र, आशा छ त्यो सपना साकार हुनेछ ।”

हालान्डले थपे, “तर यो सजिलो भने छैन । दुई राम्रा टोलीविरुद्ध दुई फाइनल खेल्नुपर्ने छ । ती टिमले हाम्रो सपनालाई नष्ट गर्न सक्दो प्रयास गर्नेछन् । उनीहरू उत्प्रेरित र तयार छन् । हामीले आफ्नोतर्फबाट उत्कृष्ट खेल्नुपर्छ । किनकी हामीले आफ्नो उत्कृष्ट खेल्छौँ भने हामीसँग त्यो हासिल गर्ने राम्रो मौका हुनेछ ।”

haaland31685689473.jpg

पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले यस सिजन आर्सनललाई पछि पार्दै लगातार तेस्रोपटक प्रिमियर लिगको उपाधि जितेको हो । 

प्रिमियर लिगको उपाधिबारे जारी सिजन ३६ गोल गरिसकेका हालान्डले थपे, “हामीले अन्तिमसम्म दोस्रो स्थानमा रहेर आर्सनललाई पछ्याइरह्यौं । त्यसकारण जब हामीले उपाधि जित्ने पक्का भयो हामीलाई ठुलो राहत महसुस यो । अब हाम्रोसामु दुई फाइनल छन् । र हाम्रो सम्पूर्ण ध्यान त्यही दुई फाइनलमा केन्द्रित छ ।” 

‘लामो र खैरो कपाल अनि १९२ सेन्टिमिटर अग्लो म जहाँ जान्छु मान्छेहरू मलाई हेर्न चाहन्छन्’ 
हालान्ड यसै सिजनको सुरुमा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डबाट सिटीमा अनुबन्ध भएका हुन् । प्रिमियर लिगमा हालान्डको यो पहिलो सिजन हो । 

उनले पहिलो सिजन नै प्रिमियर लिगमा थुप्रै कीर्तिमान बनाउन सफल भइसकेका छन् । हालान्ड प्रिमियर लिगमा एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । 

त्यस्तै एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि बनेका छन् । हालान्डले सबैखाले प्रतियोगितामा गरी ५२ गोल गरिसकेका छन् । 

haaland41685689474.jpg

नर्वेका फरवार्ड हालान्डले ‘फुटबल राइटर्स एसोसिएसन (एफडब्ल्यूए) पुरुष फुटबलर’ अवार्ड जितिसकेका छन् । त्यस्तै उनले ‘योङ प्लेयर अफ दी इयर’ अवार्ड पनि जितेका छन् । 

“राम्रो महसुस भएको छ । केही राम्रो गर्न सफल भए भन्ने लाग्छ,” हालान्डले भने, “मेरो जीवन परिवर्तन भएकोमा कुनै शंका छैन । 

म सामान्य रूपमा बस्न सक्दिँन । मलाई मेरो जीवनप्रति कुनै गुनासो छैन । म जीवनका प्रत्येक क्षणमा रमाउन चाहन्छु । म १९२ सेन्टिमिटर अग्लो छु । र मेरो लामो र खैरो कपाल छ । म जहाँ जान्छु मान्छेहरू मलाई हेर्न चाहन्छन् । यही मेरो जीवन हो । म के गर्न सक्छु र ?”

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्