site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१९ वर्षअघि मनोज बेपत्ता भए, अझै प्रतीक्षामा छन् आमा र श्रीमती

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ रमान्नद चोककी उमा दत्त र अञ्जु दत्त सासु–बुहारी हुन् । उनीहरूको खुसी गुमेको १९ वर्ष बितिसक्यो । यतिका वर्षहरूमा उनीहरूको आँशु नझरेको दिन छैन । व्यवस्था परिर्वतन गर्न हिँडेका उमाका छोरा र अञ्जुको श्रीमान अर्थात् मनोज दत्त अझै घर फर्किएका छैनन् ।

नेपाली सेनाले ०६० असोज २५ गते घरबाट उठाएर बेपता पारेको उमाको बिलौना छ ।

खाना खाइरहेकै बेला सादा पोसाकमा घर आएका सेनाले छोरालाई लगेको उमा बताउँछिन् । छोरालाई सेनाले अपहरण शैलीमा लगेको उमाले सुनाइरहँदा उनको आँखाभरि आँशु थियो ।

"हामी सबैजनालाई घरमा बन्द गरिदियो । छोरालाई पिट्दै सोधपुछ गर्न थाल्यो," १९ वर्ष अगाडिको त्यो दिन सम्झिँदै उमाले भनिन्, "छोराको गोजीबाट कमरेड लेखिएको कागजात भेटिएपछि लगे ।"

Bepatta q1685293135.jpg

त्यसपछि मनोजलाई उनको परिवारका कुनै सदस्यले भेट्न पाएनन् । मनोज मरे/बाँचेको औपचारिक खबर छैन । तर, उनी पक्राउ परेको तीन वर्षपछि पत्रिकामा एउटा समाचार आयो– मनोज दोहोरो भिडन्तमा मारिए ।

मनोजको श्रीमती अञ्जु मरेको भए पनि सरकारले शव दिँदा चित्त बुझ्ने बताउँछिन् । तर, राज्यले सास र लाश दुवै खोसेको अञ्जुको गुनासो छ । "राज्यले मात्र होइन, जसलाई मेरो श्रीमानले फोटो राखेर भगवान मान्नुहुन्थ्यो उहाँहरूले पनि हाम्रो आशा मारेका छन्," अञ्जुले भनिन्, "सास, लाश र आश सबै खोसियो ।" 

परिवारै सखाप

मनोजको बेपतापछि निरन्तर उनको घरमा दबाब र हिंसाका घटना भए । मनोज बेपता भएको दुई वर्षपछि ६० वर्षकै उमेरमा उनको बुबा उग्रनारायण दत्तको निधन भयो । मनोज बेपता भएको सात वर्षपछि उनका भाइ मुकेश दत्तको पनि हत्या भयो ।

मनोज तत्कालीन एकीकृत नेकपा (माओवादी)मा संलग्न थिए । तर, माओवादी पार्टीकै कार्यकर्ताले उनको भाइ मुकेशको हत्या गरिदिए । प्रहरीले मुकेशको हत्या आरोपमा एकीकृत नेकपा (माओवादी)का जनकपुर नगर इन्चार्ज डाक्टर नारायण भनिने प्रमोद कर्ण र उनका साला बिहारी भन्ने रतिशकुमार कर्णलाई पक्राउ गरेर मुद्दा चलायो ।

उनीहरूबीच मनोज दत्तको नाममा स्मारक निर्माणका लागि उठाइएको रकममा विवाद भएपछि मुकेशको हत्या गरिएको थियो । तर, त्यो स्मारक अझै निर्माणाधीन छन् । कसैले त्यसलाई पूरा गर्न चासो लिएका छैनन् । 

16852788607171685293136.jpg

मुकेशको हत्यापछि दत्त परिवारमा कुनै पुरुष बाँकी छैन । छोरा बेपता हुनबित्तिकै घरको सबै पिल्लर ढलेको आमा उमाको बताउँछिन् ।

सरिता दत्त मनोज र मुकेशको बहिनी हुन् । उनीहरू घरमा रहँदा नै सरिताको विवाह भारतको मधुवनीमा भएको थियो ।

तर, पछि दाइ माओवादीमा लागेको खबर पाएपछि सरिताका श्रीमान्ले हिंसा गर्न थाले । हिंसा सहन नसकेपछि सरिताले मधुवनीबाट माइती घरमा चिठी पठाइन् । सरिताले चिठी अझै घरमा छ । उनकी भाउजू अञ्जुले सुनाएअनुसार चिठीमा लेखिएको छ– दाइ गलत दिशामा लागेको छ । उसलाई बचाउनू । सही बाटोमा लग्नू ।

मनोजलाई बेपता पारिएपछि सरिताका श्रीमान्को हिंसा झन् बढ्यो । त्यही कारण पछि उनीहरूको सम्बन्धविच्छेद नै भयो । 

६ वर्षपछि कंकाल बुझेकाहरू

मनोज बेपता भएको चारदिन अघि जनकपुरधामबाट पाँचजना युवालाई प्रहरीले पक्राउ गरेको थियो । ०६० असोज २१ गते अहिलेको जनकपुरधाम उपमहानगरपालिका–१० का २४ वर्षीय सञ्जीव कुमार कर्ण, २१ वर्षीय दुर्गेश लाल, वडा नम्बर २२ कुर्थाका २२ वर्षीय प्रमोद नारायण मण्डल, वडा नम्बर ४ का १९ वर्षीय जितेन्द्र झा र विदेह नगरपालिका–२ दुबहीका १८ वर्षीय शैलेन्द्र यादवलाई जनकपुरको कटैया चौरीबाट पक्राउ गरिएको थियो । 

उनीहरू पक्राउ परेपछि परिवारले भेट्न पाएन । तर, एक सातासम्म मानव अधिकारकर्मीको सहारा लिएर प्रहरीमा सोधपुछ गर्दा अनुसन्धानका लागि ल्याएको र केही दिनमा छोडिदिने प्रहरीले आश्वासन दिने गरेको सञ्जीवका भाइ राजीव बताउँछन् । 

तर, एक सातापछि प्रहरीले नै पक्राउ नगरिएको बताउन थालेको राजीको भनाइ छ । 

उनीहरू सबैजना ०५७ सालतिर अखिल क्रान्तिकारी हुँदै पार्टीमा लागेका थिए । ०६० सालमा जनकपुरधामको बाह्रबिघा मैदानमा पार्टीको सभा हुँदा उनीहरू खुलेका थिए । 

Bepatta1685293135.jpg

उनीहरूलाई बेपता पारिएपछि परिवारले धेरै ठाउँमा खोजे । तर, कुनै उपलब्धि भएन । ०६४ साल माघ १० गते मानव अधिकार आयोगलाई शाही नेपाली सेनाले पठाएको चिठी घरमा आइपुग्यो । चिठीमा प्रहरीको एकल कारबाहीमा मारिएको उल्लेख थियो । त्यसपछि मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतको सहयोगमा उनीहरूको परिवार शव खोज्न थाले । उनीहरूलाई पक्राउ गरिएको एक साताभित्रै धनुषाको गोदारमा हत्या गरिएको मृतक सञ्जीवकी आमा विमला देवी लाभको भनाइ छ । 

०६७ साल भदौमा धनुषाको गोदारमा उत्खनन् गर्दा शव भेटियो । भेटिएको कंकाललाई डीएनए जाँचका लागि पठाइयो । ०७१ साल असारमा रिपोर्ट आएपछि परिवारले कंकालको नै दाहसंस्कार गरेका थिए ।

द्वन्द्वकालमा मारिएका तथा बेपता पारिएका यी प्रतिनिधिमूलक घटना हुन् । धनुषामा मात्रै ११ जनालाई बेपता गरिएको थियो । अधिकांश परिवारको अवस्था उस्तै छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro