जर्जटाउन, गुयाना । गुयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” दक्षिण अमेरिकी राष्ट्र गुयनाका राष्ट्रपति इरफान अलीले स्थानीय समय अनुसार आइतबार राति भनेका छन् ।
मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने कैयौँ घाइते भएका छन् ।
अलीले आगलागीबाट घाइते भएका सबै बालबालिको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न आदेश दिएको बताए ।
जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थलमार्ग विच्छेद भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको उनले बताए ।
करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गुयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्वडच र बेलायती उपनिवेश हो । रासस÷एएफपी