काठमाडौं । ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।
अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा तोकिएको थियो ।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको थियो । सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।
ढाकाकुमारले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल ढाकाकुमारको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
ढाकाकुमारको पद खारेज गर्दै रास्वपाले उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सिफारिस गरेको थियो । निर्वाचन आयोगले विन्दवासिनीलाई सांसदको प्रमाणपत्र पनि दिएको थियो । तर, सर्वोच्चको आदेशसँगै उनले शपथ लिन पाइनन् ।