site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपविरुद्धको बलात्कार मुद्दा पराजुलीको इजलासमा, सुरु होला त अन्तिम सुनुवाइ ?
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको छ । उक्त मुद्दा पेसी सूचीको दशौँ नम्बरमा रहेको छ ।

यसअघि, पटकपटक अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि विभिन्न कारणले सुनुवाइ स्थगित भएको थियो । यसअघिको पेसी बिदामा बसेका न्यायाधीशकोमा परेकाले स्थगित भएको थियो ।

सोअघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।

पक्षहरुको तर्फबाट मुद्दा स्थगित गर्ने व्यवस्था सकिएको भए पनि कहिले हेर्न नभ्याउने त कहिले प्रतिवादीले सन्दीपलाई थुनामा पठाउने न्यायाधीशको इजलासमा सुनुवाइ परेकाले स्थगित गराएका थिए । आज भने न्यायाधीश पराजुलीको इजलासमा सुनुवाइ तोकिएको छ । तोकिएका अगाडिका मुद्दा समयमै सकिएमा आज सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु हुनेछ ।

न्यायाधीश पराजुलीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भएर हेर्दाहेर्दैमा राखे उनैको इजलासले यस मुद्दामा फैसला समेत गर्नेछ । तर, आज पनि मुद्दाको सुनुवाइ स्थगित भएमा फेरि अन्तिम सुनुवाइको अर्को पेसी तोकिनेछ ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्ता हुँदा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

पक्राउ परेपछि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो । अनुसन्धान सकिएसँगै कार्तिक १५ गते उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिमको कसुरमा मुद्दा दायर भयो ।

लामिछानेलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दफा २१९ को उपदफा ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म सम्मको कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग गरिएको छ ।

मुद्दा दायर भएसँगै उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतको न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेश समेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो ।

लामिछानेलाई विदेश जाने अनुमति दिने आदेशसँगै इजलासले पीडितलाई अन्तरिम क्षतिपूर्ति समेत दिने व्यवस्था मिलाउन आदेश गरको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro